महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) आज काठमाडौँमा हुँदैछ । महाभिषेक प्रदान गर्नका लागि यतिबेला ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे काठमाडौँमै हुनुहुन्छ । काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात चौरमा हुने महाभिषेकको सम्पुर्ण तयारी पुरा भइसकेको छ । आज दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ ।
महाभिषेकमा करिब ३० हजार सहभागि हुने आयोजक कुसुमा बुद्ध धर्म संघले अनुमान गरेको छ । कार्यक्रमस्थलमा भीड हुने भएकाले बस्ने स्थानको अभाव हुन सक्ने भएकाले कुसन लगायतका व्यवस्था आफै गर्न आयोजकले आग्रह गरेको छ । त्यस्तै पिउने पानीका लागि बोतल, हाते पंखा र छाता समेत लिएर आउन आग्रह गरिएको छ ।
महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ र एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाकरुणामय आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन ) बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो दुर्लभ अभिषेक प्राप्त गरी आफ्नो अमूल्य जीवनलाई सार्थक तुल्याउनु श्रद्धालु धर्मावलम्वीहरुलाई आयोजक व्योम कुसुमा बुद्ध धर्म संघले आह्वान गरेको छ ।