विवेक शर्मा
उत्तरः १२औं शताब्दिमा मुसलमानी हमलाले भारतबर्षकै इतिहासमा अध्ययन र विद्याको चरमोत्कर्षको रुपमा रहेका करिब एक दर्जन नालन्दा, विक्रमशिल, जगद्दल, औदन्तपुरी आदि जस्ता बौद्ध महाविद्यालयहरुको समुल नाश भएपछी हालको भारतमा बौद्ध धर्मको अवसान हुन पुग्नुका साथै अध्यात्मको क्षेत्रमा सम्पुर्ण व्याख्या प्रणालीनै वैदिक–हिन्दु धर्मको स्थापना हुन गएको र बौद्ध धर्मको ग्रन्थ, व्याख्याप्राणाली, विधिविधान र अवधारणा पछि धकेलिएकोले भारत र नेपालका अधिकाँश मानिसलाई बौद्ध धर्मको बारेमा जानकारीको कमिले गर्दा बौद्ध धर्ममा सरस्वतीको के स्थान छ भनेर थाहा नहुनु स्वभाविक नै हो।
नेपालमा बौद्ध धर्म मल्ल,शाह र राणाकालमा पेलिएकोले पनि आजको दिन्मा वैदिक–हिन्दुधर्मको तर्फबाट मात्र एकोहोरो रुपमा सरस्वतीको वर्णन मुलधारमा आइरहनु पनि स्वभाविकै हो।
हिन्दु धर्ममा सरस्वतीलाई अनेकन संदर्भ र अवस्थामा वर्णन गरेको पाइन्छ। वेद देखि महाभारत र पुराण आदिमा भिन्नभिन्नै रुपमा सरस्वतीलाई व्याख्या गरेको हामी पाउँदछौं। प्रायः जनमानसमा प्रचलित बुझाई चै सरस्वतिलाई ब्रह्माले सृष्टि गरेको मानिन्छ। यी सबैलाई अहिलेलाई थाँतिराखौ र अब बौद्ध धारणालाई छोट्करिमा बुझौं।
पहिलो कुरा त बौद्ध धर्ममा ब्रह्मानै एक जीवन÷मरणबाट ननिस्किएको, कर्मले डोर्याएको सत्त्वको रुपमा लिइन्छ। धेरै ब्रह्मलोकहरु हुन्छन् र त्यहाँ असंख्य ब्रह्माहरु हुन्छन् । बौद्ध ग्रन्थमा मात्रै करिब ६ बटा ब्रह्माहरुको वर्णन पाइन्छ। यसैपनी बौद्ध धर्ममा सृष्टिकर्ता ईश्वरलाई मानिन्न चाहे त्यो ब्रह्मा होस् या ब्रह्मन आदि। सबै संसार र यस्को विचित्रता सत्त्वको कर्मले देखा परेको भन्ने मान्यता बुद्धको छ। तसर्थ सरस्वतीको कुरा गर्दा बौद्ध धर्मको अवधारणा महायन÷वज्रयान्को सैधान्तिक धारातलमा बुझ्नु पर्ने हुन्छ।
बौद्ध धर्ममा बुद्ध–बोधिसत्त्वले सत्त्वको हितको लागि विभिन्न निर्माणकायहरु प्रक्षेपण गर्दछन्। स्मरण रहोस् कि बौद्द्ध धर्ममा यो गर्नलाई हामी सबै सत्त्व वा प्राणिहरु सक्षम छौं, वशर्त हामीले महायानको अभ्यास गर्नु पर्दछ। त तल फोटोमा भनिएको जस्तै सरस्वती भनेको ताराको एक रुप हो, जसलाई बौद्ध प्राविधिक भाषामा निर्माणकाय भनिन्छ! विभिन्न बुद्ध बोधिसत्त्वहरुले आफ्नो चित्तबाट विभिन्न किसिमका निर्माणकायहरु विभिन्न चर्या र प्रयोजनका लागि स्फारण गर्दछन् । यस्ता निर्माणकायाहरुको विभिन्न गुणहरु हुन्छन्। तारा सरस्वतीको रुपमा विद्याकी देवी वा ईष्टम् हुन्। यसको साधनाको विधिआदि आजसम्म पनि अटुट रुपमा बौद्ध महायान परंपरामा प्रसारित हुदै आईरहेको छ।
तर यो पनि स्मरण गराउन चाहन्छु कि विद्याकी देवी सरस्वती वा मंञ्जुश्री आदिको साधना गर्दैमा खुरुक्क विद्वान बनिने भने होइन। साधनाकोसंगसंगै अरु हेतु प्रत्यय पनि जुटाउनु पर्ने हुन्छ । आफ्नो स्व–अध्ययन जारी गर्नुनै पर्दछ। तर बौद्ध ईतिहास साक्षि छ कि सरस्वती वा मंञ्जुश्री वा ताराको सिद्धि गर्न बौद्ध अभ्यासिहरु धेरै ठुला ठुला गुरु÷महापंण्डित हुनु भएको र अपुर्व ग्र्न्थहरुको रचना गर्नु भएको छ।
यो छोटो विवरण त एउटा उदाहरण मात्र हो। बौद्ध धर्म भित्र यति धेरै किसिमका साधना र अभ्यासहरु छन् र तिन्को विवरण यति धेरै गहिरा र गंभिर छन् कि भारत र नेपालका मुमुक्षुहरुले कल्पनानै गर्न सकेका छैनन्। पुर्विय दर्शनको सबैभन्दा पुर्ण स्वरुपनै बौद्ध धर्म हो।


