बौद्ध भिक्षुले पाउने निःशुल्क भिसा किन रोकियो ?

लुम्बिनीका गुम्बामा बस्न आउने बौद्ध भिक्षुहरूले पाउँदै आएको निःशुल्क भिसा सुविधा रोकिएको छ । लुम्बिनी विकास कोषको सिफारिसमा गुम्बाभित्र बस्न आउने भिक्षुले एक वर्षको लागि निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा दुई सातादेखि रोकिएको भन्दै भिक्षुहरूले गुनासो गरेका कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

शाक्यका अनुसार लुम्बिनीभित्र विभिन्न देशले बनाएका गुम्बामा बस्न आउने भिक्षुहरू १० जनासम्मले निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा पछिल्लो दुई सातादेखि रोकिएको र नयाँ नवीकरणसमेत भएको नभएको शाक्यले बताए । भिसा रोकिएको विषयमा तालुक निकाय हुँदै परराष्ट्र मन्त्रालयसम्मलाई जानकारी गराएको कोषले जनाएको छ । कोषले तत्काल समस्याको समाधान गर्न पनि माग गरेको छ ।

भिसा रोकिएको विषयमा भिक्षुहरूबाट आएको गुनासोलाई के र कति कारणले हो भन्दै स्पष्ट पारिदिन शाक्यले आइतवार कोषको तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखालाई आग्रह गरेका छन् । कोषका अनुसार नेपाल आउने यस्ता भिक्षुहरू एउटा गुम्बामा १० जनासम्मलाई निःशुल्क भिसा दिने गरिएको भए पनि सबैमा सोही संख्यामा आएका हुँदैनन् ।

लुम्बिनी आउने भिक्षुहरु कामको लागि नआउने र बाहिर निस्किएर काम पनि नगर्ने भएकोले निःशुल्क भिसा दिइँदै आएको छ । यस्तो भिसा कोषको सिफारिसमा पर्यटन मन्त्रालय, गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागको सिफारिसमा परराष्ट्रले जारी गर्दै आएको छ ।

यस्तो भिसा लिएर आउने भिक्षु करीब १७ वटा गुम्बाको लागि आउने कोषले जानकारी दिएको छ । कोषले यस्तो भिसा ३ दशकदेखि दिँदै आएको उल्लेख गरेको छ ।

Share

Related posts