बौद्ध धर्ममा थांकाको महत्व

नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखन भन्दा फरक रहेको छ ।

थाङ्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला हो । जतिखेर बुद्ध धर्मको प्रचार हुँदै थियो, त्यसबेला पढेलेखेका मानिस कम थिए । चित्रबाट सजिलै धर्मशास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीमा यो चित्रकलाको विकास भएको हो भन्ने धारणा रहि आएको छ । त्यसबेलाको नालन्दा विश्वविद्यालय (हाल भारतको पटना)मा यो विषयको अध्यापन हुन्थ्यो । तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरूहरू यसको शिक्षा लिन त्यहाँ जान्थे । पछि तिब्बतको राजनीतिक परिवर्तनपछि त्यहाँका खाइबाहरू पलायन भए । उनीहरूको उद्देश्य फेरियो । उमेरका कारण उनीहरू चित्र कोर्न नसक्ने भए । उनीहरूका चेला–चेलीले त्यो दर्शन पूर्ण रूपमा टिप्न सकेनन् । आधुनिक शिक्षाका कारण भारतमा पनि यो कलाको अध्यापन रोकियो । तर नेपालका गुम्बामा भने यो शिक्षा फैलिँदै गयो । त्यसैले विश्वमा जति पनि थाङ्का बिक्री–वितरण हुन्छन्, तीमध्ये ९५ प्रतिशत थाङ्का नेपाली हुन्छन् ।

नेपालको राजकुमारी भृकुटीको तिव्वती राजा स्रङचन गम्पो सँग विवाह भए पछि यो कला तिव्वतमा प्रवेश पाएको विश्वास गरिन्छ । विकिपेडियाबाट

Share

Related posts