लोप हुने खतरामा बुद्धभूमि लुम्बिनीका सम्पदा

रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका–१२, निपनिया–बन्जरैयामा रहेका पुरातात्विक सम्पदा नदीमा बिलय हुँदै गएका छन् । सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाहरु संरक्षण अभावमा नदीमा बग्दै गएका हुन् । बर्सेनि बर्खे भेलमा ऐतिहासिक र बुद्ध जीवनीमा मेल खाने सम्पदा बगिरहँदासमेत यसको संरक्षणमा भने कसैको चासो गएको छैन ।

सन् १९६४ मा भारतका विश्वविख्यात पुरातत्वशास्त्री एसपी देवले यस क्षेत्रको अध्ययन गरेका थिए । त्यतीबेला सिद्धार्थ गौतम बुद्ध जन्मुनभन्दा ६–७ सय वर्ष पहिलाको मानवबस्ती भएको अनुमान गरिएको थियो । त्यसयता पुरातत्व विभागले र सरकारले यहाँको अध्ययन–अन्वेषण र उत्खनन् गरेको छैन । यहाँ पाइने माटोका भाडा हर्पन सभ्यताको समकालीन भएको बताइन्छ । पुरातत्वशास्त्री देवले पनि अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालनी संरचना भएको निचोड निकालेका थिए ।

संरक्षण अभावमा पुरातात्विक सम्पदा क्षेत्र भने दानव नदीमा बगिरहेका छन् । तीन दशक अघि तीन किलोमिटर परबाट बग्ने नदी अहिले सम्पदा क्षेत्रबाट बगेको छ । नदी कटान हुनु अघि यहाँ धेरै पूराना घर, माटोका भाँडा, बाकस, सुनचाँदी, शिवालय मन्दिर, इनारहरु भेट्टिएका थिए । कुनै–कुनै इनारमा मानिसका कंकालहरु देखिएको स्थानीय बताउँछन् । दुई वर्ष अघि नदी छेउमा पाँचफिट जति अग्लो रिङ भेटिएको थियो । त्यो पनि नदीले बगाइसकेको छ । नदी कटानले सम्पदा क्षेत्रको अस्तित्व संकटमा मात्रै परेको छैन, स्थानीयको घरजग्गा पनि जोखिममा परेको छ ।

स्थानीयले यहाँ भेटिएका माटोका भाडालगायत अन्य संरचना लुम्बिनी विकास कोषलाई उपलब्ध गराएका छन् । पुरातत्वविद् र कोषका अनुसार यो क्षेत्र बुद्ध जीवनीसँग सम्बन्धित छ । यो क्षेत्रसँगै बुद्ध जीवनीमा सरोकार राख्ने रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै २ सय ३५ बढी पुरातात्विक सम्पदाहरु पत्ता लागेका छन् । तर, यी सबै क्षेत्रको खोजअनुसन्धान भने हुन सकेको छैन । जसले गर्दा निपनिया–बन्जरैया जस्तै अन्य ठाउँका सम्पदाहरु पनि वर्खे भेलमा बग्ने र लामो समय उत्खनन् नहुँदा विलय हुने जोखिम बढेको छ ।

Share

Related posts