लुम्बिनीमा बौद्ध ध्यानकेन्द्र निर्माणका लागी सहयोग आह्वान, अनलाइनबाट एक रुपैयाँ डोनेसन अभियान सुरु

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधिन महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माणका लागि आज शनिबारबाट अनलाइनमार्फत् दान संकलन शुरु भएको छ । यसअघि उक्त बाटिका निर्माणका लागि लुम्बिनीमा मुठ्ठीदान अभियानको सार्कका महासचिव दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गरेका थिए ।

विश्वभरका आम समुदायको सहभागिता रहनेगरी बौद्धमार्गी र अनुयायीहरुलाई मुठ्ठीदान गर्न सहज होस् भनेर अनलाइन सेवा सुरु गरिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचेले बताए ।

उनले भने, ‘नेपालभर इ–सेवा र बाह्य मुलुकबाट पे–पल एपमार्फत् दान गर्न सकिने गरि व्यवस्था मिलाएका छौं । मुठ्ठीदानबाट निर्माण हुने अन्तराष्ट्रिय महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस सेन्टर विश्व द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण केन्द्र बन्नेछ । विश्वका हरेक द्वन्द्वरत पक्षको छलफल गर्ने केन्द्र बनाउनेछौं ।’

डब्लुडब्लुडब्लु डट पिसस्यान्चुरी डट ओआरजी मार्फत मुठ्ठीदान गर्नेगरी व्यवस्था गरिएको छ । अभियान अन्र्तगत नेपालबाट सुरु मुठ्ठीदान कार्यक्रम विश्वभर रहेका बुद्ध, हिन्दू, जैन, सिख गरेर ओमकार परिवारका सदस्यबाट एक रुपैयाँ दान लिइनेछ । केन्द्रभित्र बुद्धसँग सम्बन्धित विभिन्न पुस्तकको संग्रह गरी पुस्तकालय बनाइने छ ।

यस्तै ध्यानस्थल, सभाकक्ष, शान्तिवार्ता कक्षलगायत निर्माण गरिनेछ । केन्द्र अत्याधुनिक बन्ने निर्माणकर्ताले जनाएका छन् । बाटिकाको डिजाइन जर्मनमा गरिएको थियो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकले समेत साधना गर्ने स्थलका रूपमा २ वर्ष अघिदेखि लुम्बिनीमा बाटिका निर्माण भइरहेको हो ।

शनिबार ल्ुम्बिनीमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी सांग्रीला होटलका अध्यक्ष प्रसिद्ध बहादुर पान्डेले अनलाईन एक रुपैया डोनेशन कार्यक्रमको समुद्घाटन गर्दै सबै उद्योगी व्यवसायीले सहयोग गर्ने बताए । उक्त कार्यक्रममा उपस्थित उद्योगि व्यवसायी, पत्रकारहरुले एक रुपैया दान समेत गरेका थिए ।

Share

Related posts