बौद्ध धर्ममा लुङ्ताको विशेष महत्व रहेको छ । पञ्चरंगी विभिन्न ५ जनावरको चित्र अंकित लुङ्तामा राखिएका प्रत्येक जनावर सांकेतिकरुपमा राखिएका हुन् । लुङ्ता शव्दमा रहेको लुङले पञ्चतत्व पृथ्वी, जल, अग्नी, वायु र ब्रह्माण्डलाई जनाउँछ । अर्थात् लुङको अर्थ सर्वव्यापी अर्थ हुन्छ ।
त्यस्तै ताको अर्थ उच्च वेगको घोडा भन्ने जनाउँछ । प्राचीन तिब्बतमा घोडालाई तिब्रताको प्रतिकको रुपमा लिइन्थ्यो । तिब्बती प्रचलन र संस्कार अनुसार लुङ्ता भन्नाले वायुकै तेज बराबरको अर्थात् वायुपंखी घोडा भन्ने पनि बुझिन्छ ।
लुङ्ता राख्नाले शुभकार्य, मनोकांक्षा पुरा गर्ने, पुण्य प्राप्ति लगायत प्राप्त हुने लगायतका विविध फाइदा हुने धार्मिक मान्यता रहँदै आएको छ । लुङ्तामा राखिएका पाँच ओटा जनावारको फरक फरक अर्थ रहेको छ । जसमध्ये गरुड आयू, प्राणवृद्धि, बाघ सुखशान्ति र समृद्धीको, मेघ भाग्य अभिवृद्धिको, सिंह शुभमंगल वा पूण्यको र वायुपंखी घोडा साहस र परिश्रमको प्रतिक मानिन्छ ।