काठमाडौँ — बौद्ध साहित्यमा महापरिनिर्वाणसूत्रको धेरै ठूलो महत्व छ । यसलाई गौतम बुद्धको निर्वाणबारे जानकारी दिने सबैभन्दा प्राथमिक स्रोत मानिन्छ । यो त्रिपिटक अन्तर्गतको सबैभन्दा लामो सूत्र पनि हो । यसको संस्कृतबाट चिनियाँ भाषामा अनुवाद पाँचौं शताब्दीमा नानचिङ सहरमा भएको थियो ।
चिनियाँ बौद्ध धर्ममा एउटा चान सम्प्रदाय रहेको छ । यसलाई ध्यान सम्प्रदाय पनि भनिन्छ, किनभने यसले ध्यानमा बढी जोड दिन्छ । यही सम्प्रदायका कारण चीनमा बौद्धधर्मको विकास र प्रचारमा ठूलो मद्दत पुगेको मानिन्छ । पाँचौं शताब्दीको सुरुतिर चीन पुगेर महापरिनिर्वाणसूत्रको अनुवाद र चान सम्प्रदायको स्थापना दुवैमा योगदान दिने व्यक्ति हुन्, बुद्धभद्र ।
नेपाली इतिहासका स्रोतले यी बुद्धभद्रबारे निकै कम चर्चा गरेका छन् । अथवा गरेकै छैनन् भन्दा पनि हुन्छ । तर, चिनियाँ स्रोतलाई मान्ने हो भने उनी नेपाली थिए । उनको जन्मस्थान कपिलवस्तु हो, जो आधुनिक नेपालमा पर्छ । त्यसैले पनि चिनियाँ बौद्धधर्मको कुनै पनि ज्ञाता नेपाल आउँदा उसले चर्चामा उठाउने सबैभन्दा पहिलो विषय यिनै बुद्धभद्रको हुने गर्छ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत यिनकै चर्चा गरेका छन् । यस्तोमा नेपाल र चीनबीचको हजारौं वर्ष पुरानो सम्बन्धबारे चर्चा गर्दा छुटाउन नहुने नाम हुन्, बुद्धभद्र ।
अनुसन्धानको अभाव
‘बुद्धभद्रबारे नेपाली इतिहासमा कमै लेखिएको छ, हामीले यसतर्फ खासै काम गर्न सकेका छैनौं,’ नेपाली इतिहासकार विजयकुमार मानन्धर मान्छन् । तर चिनियाँ इतिहासको स्रोत भने बुद्धभद्रबारे प्रस्ट छ । छैटौं शताब्दीमा लेखिएको किताब हो, गाओ सेङ चुआन । यसमा चिनियाँ बौद्ध भिक्षुहरूको जीवनी समेटिएको छ । यसैमा बुद्धभद्रको जीवनी पनि छ । चिनियाँहरू उनलाई च्वेस्यान भन्छन् । त्यसमा प्रस्ट लेखिएको छ, बुद्धभद्रको जन्म कपिलवस्तुमा भएको थियो ।
गाओ सेङ चुआनमा केसम्म भनिएको छ भने उनी शाक्यवंशी राजा अमृतोदनका वंशज थिए । यसको अर्थ हो, बुद्धभद्रको सम्बन्ध सिधै गौतम बुद्धसम्म पुग्छ, नातेदारका रूपमा । त्यस आधारमा मानन्धरले दाबी गरेका छन्, बुद्धभद्र नै चीन पुग्ने पहिलो नेपाली हुन् । तर यति ठूलो व्यक्तित्वबारे नेपाली पक्षबाट खासै अनुसन्धान भएको छैन, न त चर्चा नै भएको छ । दुई वर्ष अगाडि लुम्बिनी विश्वविद्यालयको आयोजनामा लुम्बिनीमै भएको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी अधिकांश चिनियाँ प्रतिनिधिले बुद्धभद्रको चर्चा गरे । उनीहरूका अनुसार बुद्धभद्र चिनियाँ इतिहासकारहरूका लागि पनि रोमाञ्चक विषय सावित भएका छन् र विश्वविद्यालय स्तरमै उनीमाथि प्रशस्त अध्ययन तथा लेखन चलिरहेको छ ।
सन् १९७० मा चिनियाँ इतिहास र भाषाका ज्ञाता जर्मन लेखक एरिक जुरचरले बुद्धभद्रबारे गहन अध्ययन गरेका थिए । पछि उनी मानन्धरको सम्पर्कमा आए । जुरचरले गरेको अध्ययनको पनि निचोड हो, बुद्धभद्र नेपालकै हुन् । उनको चिहान अझै पनि चीनमा सुरक्षित छ । नेपाली पक्षबाट बुद्धभद्रबारे खासै अनुसन्धान नहुनुको प्रमुख कारण हो, चिनियाँ भाषाको ज्ञान नहुनु । अझ त्यस समयको चिनियाँ भाषाबारे राम्रो ज्ञान नहुनु । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय इतिहास विभागका प्रमुख शंकर थापा भन्छन्, ‘बुद्धभद्रबारे गहन अध्ययन हुने हो भने नेपाल–चीन सम्बन्धमा कोसेढुंगा स्थापित हुन सक्छ ।’
सुरुमा केही भारतीय इतिहासकारले बुद्धभद्र भारतका हुन् भनेर दाबी गरेपछि पनि अन्योल थपिएको हो । वस्तुतस् चिनियाँ बौद्ध धर्मको इतिहासमा दुई बुद्धभद्र छन् । तीमध्ये नेपालमा जन्मेका बुद्धभद्रले बौद्ध ग्रन्थहरूको अनुवादसँगै चान सम्प्रदायको स्थापना गरे । भारतीय बुद्धभद्रले भने बौद्ध धर्मसँग जोडिने चिनियाँ पारम्परिक मार्सल आर्टस्को स्थापनाका लागि मद्दत गरेका थिए । संयोग कस्तो भने चान सम्प्रदायको स्थापना गर्ने बुद्धभद्र नेपालका हुन् भनेर पहिलोपल्ट लेख्ने व्यक्ति पनि प्राचीन भारतीय इतिहासका ज्ञाता सुकुमार सेन नै हुन् ।
चिनियाँ स्रोत
गाओ सेङ चुआनका अुनसार बुद्धभद्रले १७ वर्षको उमेरमा बौद्ध धर्मको दीक्षा प्राप्त गरे । भिक्षु भएपछि उनी सबैभन्दा पहिले कश्मीर गए । सन् ४०९ मा उनी चीन पुगे र ४२९ सम्म त्यहीं रहे । त्यो कालखण्डमा चीनमा माथिल्लो दर्जाका भिक्षुको अभाव रहेकै कारण बुद्धभद्रलाई त्यहाँ आउने निम्तो दिइएको हो । उनी आएसँगै चीनमा सर्वा्स्तिवादी ध्यानपरम्परा स्थापना भयो र त्यसलाई बुद्धभद्रका अनुयायीले थप अगाडि बढाउन मद्दत गरे । बुद्धभद्रले नानचिङमा चिनियाँ बौद्ध यात्री फा सियानलाई भेटे र उनीहरूले नै महापरिनिर्वाणसूत्रको अनुवाद गरेका हुन् ।
हिमेश / कान्तिपुर दैनिकबाट

