एकपटक भगवान् बुद्ध भारतबाट नेपालतर्फको यात्रामा थिए । उनी भारतीय सीमाबाट हाल नेपालको सिमानामा पर्ने भूभागतर्फको यात्रामा थिए । संयोगले त्यतिखेर उनी एक्लै थिए । तराईको चर्को गर्मीले उनलाई सास फेर्न पनि कठिन हुँदै गएको थियो । उनको साथमा पानी थिएन । पानीको खोजीमा यताउता भौँतारिँदाभौतारिँदै उनले एक सात–आठ वर्षकी बालिकाले इनारबाट पानी निकालिरहेको देखे ।
बुद्ध हतारिँदै त्यहीँ पुगे । उनले बालिकालाई सम्बोधन गर्दै भने(-‘नानु, मलाई अलिकति पानी देऊ न । पानी पिउन नपाएर म त मर्नै लागिसकेँ ।] बालिकाले बुद्धलाई हेरिन् । बुद्धको गेरु वस्त्र र मुखमण्डलमा एक अलग्गै आभा उनले प्रस्टै महसुस गरिन् । तिर्खाएका बुद्ध दुवै हात जोडेर अँजुली बनाएर पानी थापिरहेका थिए । उनको अँजुलीमा पानी खन्याइदिनै लाग्दा ती बालिका एकाएक रोकिइन् । उनले मनमनै सोचिन्( यिनी त हाम्रो गाउँका पण्डितजी जस्तै देखिन्छन् । पण्डितजीले त हामीले छोएको पानी पिउँदैनन् । मेरो जात थाहा पाए भने पक्कै यिनले पनि पानी पिउनेछैनन् । पानी पिइसकेपछि मेरो जात थाहा पाएर यिनलाई दुःखी हुन दिनुभन्दा त पहिल्यै यसबारे बताइदिनु ठीक हुन्छ । बालिकाले पानी दिन आनाकानी गरेकाले बुद्धले पुनः याचना गरे( नानु, मलाई पानी दिन्नौ ? म त तिर्खाले मर्नै लागिसकेँ । बालिकाले बुद्धतिर पुलुक्क हेर्दै भनिन्— म पानी त दिन्छु, तर हजुरलाई पछि मेरो जात थाहा पाएर पछुतो नहोस् भनेर मात्र म रोकिएकी हुँ । म एक दलित परिवारकी बालिका हुँ । तपाईं कसरी मेरो हातबाट पानी पिउन सक्नुहुन्छ ?
बालिकाको निर्दोष भनाइ सुनेर बुद्ध गम्भीर भए । उनले मुसुक्क मुस्कुराउँदै भने- ‘नानु, मैले त तिमीसित पानी मागेको हुँ, जात सोधेको होइन । त्यसैले, मलाई पानी देऊ, तिमीलाई धर्म हुनेछ ।’ बालिकाले बुद्धलाई पानी दिइन् । बुद्धले धीत मरुन्जेल पानी पिए र बालिकालाई धन्यवाद दिएर अघि बढे ।