आचार्य सार्की शेर्पा
भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्मचक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछ । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैठौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा डुक्पा छेजी भन्ने गर्दछ ।
शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मृगदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्चवर्गीय भिक्षु (अज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिय) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ । निरोध – दुःख कारणको निवारण छ । मार्ग – दुःख कारण निवारणको लागि आर्य अष्टांगिक मार्ग छ ।) को उपदेश दिनु भएको थियो । जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।
धर्मचक्र प्रवर्तन महोत्सवका दिन बौद्धमार्गीहरूले पवित्र स्थानहरूमा धार्मिक प्रवचन र गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाक, उपसिकाहरू शील धारण गरी पाठपूजाको साथै ञ्युङन्ये मौनव्रत बस्ने प्रचलन पनि रहेको छ ।

