चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुपमा लाग्ने तामाङ समुदायको तेमाल जात्रामा विहिबार मनाइदैछ ।
तेमाल जात्राको दिन बौद्ध स्तुपमा आई द्वीप प्रज्ज्वलन गर्नाले दिवङ्गत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।
दिवङ्गत पितृहरुको मोक्ष प्राप्तिका लागि तेमाल जात्रामा रातभर तामाङ समुदायका मानिस बौद्ध स्तुपमा बसेर द्वीप प्रज्वलन गर्ने गर्दछन् ।
रातभर बत्ती बालेर चैत्र पूर्णिमाका दिन अर्थात भोलि बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूनाथको दर्शन गरेपछि तेमाल जात्रा सकिन्छ ।
जनश्रुतिअनुसार काठमाडौँ उपत्यकाका दहको रुपमा रहेका बेला क्रकुछन्द बुद्ध आई नागार्जुन डाँडामा बसेर साधना गरी ऋद्धिसिद्धी शक्तिबाट चैत्र पूर्णिमाका दिनमा कमलको फूल उत्पत्ति गराइदिएको समयबाट तेमाल जात्राको सुरुवात भएको मानिन्छ ।
यो जात्रालाई १८१९ साल असोज २ सम्म तेमालका अन्तिम तामाङ राजा रिन्जिन दोर्जे बलले राजकीय चाडको रुपमा मान्यता सहित निरन्तरता दिएको इतिहास रहेको छ ।
यो जात्रालाई बौद्धवासीले तेमाल जात्रा भन्ने गरेका छन् भने तेमालवासीले बौद्धको जात्रा भन्ने गरेको बौद्धवासी गजेन्द्रकुमार लामाले बताउनुभयो ।
तेमाल जत्रामा देशभरका तामाङ समुदायको सहभागिता रहने भए पनि रसुवा, धादिङ, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँका तामाङहरुको भने बढी सहभागिता रहने गरेको छ ।
जात्राको सम्पुर्ण तयारी पुरा
शुक्रबार पत्रकार सम्मेलन गर्दै तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष लामाले नेपाल सरकारले सुरक्षाको ब्यवस्था चुस्त दुरुस्त गर्नुपर्ने, बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा र बौद्ध तेमाल जात्रा मुल व्यवस्थापन समितिको संयोजनमा हुने बौद्ध तेमाल जात्रा अघिल्लो वर्षहरुमा भन्दा पनि ब्यवस्थित हुने जानकारी दिए ।

