काठमाडौँका विभिन्न १८ महाविहारसँग आबद्ध बज्राचार्यहरुको दुईदिने बृहत् भेला ‘दे आचार्य गुठी’ आज हनुमानढोकामा सम्पन्न भएको छ । हनुमानढोकाभित्र भएको विशेष कार्यक्रममा श्रीखण्डमूल महाविहारका श्याममान बज्राचार्य र बज्रशील महाविहारका शीलमान बज्राचार्यको अगुवाइमा मामकी र बज्रसत्व पूजा गरिनाका साथै दान प्रदान गरिएको थियो ।
बज्राचार्य गुरुहरुलाई चामल, चिउरा, पैसालगायत दान गरिएको थियो । बज्रसत्व पूजामा आनन्दमुनि बज्राचार्यले बज्रसत्वको नृत्य तथा राजगुरु मञ्जुश्रीरत्न बज्राचार्यले विशेष पूजा गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दे थाय्पा धुपरत्न बज्राचार्यको हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । दे आचार्य गुठीको पहिलो दिन बिहीबार स्वयम्भू महाचैत्यको अगाडि बज्राचार्यहरुको बृहत् भेला शुरु भएको थियो । महाचैत्य अगाडि कलश पूजा तथा मामकी पूजा भुइखेलमा गणचक्र पूजा गरिएको थियो । त्यसको आयोजना मैत्रीपुर महाविहारका प्रेमरत्न बज्राचार्य र मन्त्रसिद्धि महाविहारका भाइरत्न बज्राचार्यले गर्नुभएको थियो ।
देशभरिका बज्राचार्यहरुको सहभागिता हुने ‘दे आचार्य गुठी’ हरेक वर्ष चैत्र कृष्णपक्ष अष्टमी र नवमीका दिने हुने बौद्ध परम्परा छ । दुईदिने भेलामा काठमाडौँका १८ महाविहारका तीन हजारभन्दा बढी बज्राचार्यको सहभागिता थियो । दे आचार्य गुठीको पहिलो दिन बिहीबार स्वयम्भू महाचैत्यको प्रसिद्ध शान्तिपुरमा भएको कार्यक्रममा बज्राचार्य गुरुहरुलाई चामल, चिउरा, केराउ, पैसालगायत दान गरिएको थियो ।
दे आचार्य गुठीको पहिलो दिन साँझ प्रसिद्ध भुइखेलमा गणचक्र पूजा गरिएको थियो । बज्रयान बौद्धधर्मका अनुयायीले हजारौँ वर्षदेखि आफ्नो मौलिक पहिचानका रुपमा रहेको बज्रयानसँग जोडिएको संस्कार दे आचार्य गुठी आज हनुमानढोकामा समापन भयो । त्यहाँ आज भएको कार्यक्रममा परम्पराअनुसार बज्राचार्य गुरुहरुलाई सेँ च्या (तिब्बती चिया जसमा नुन र घीउको समिश्रणबाट तयार पारिन्छ) खुवाइएको थियो । यहाँ बौद्ध परम्पराअनुसार बज्रसत्वको नृत्य तथा पूजा तथा साँझ लोकोत्तर पूजा गरियो । कार्यक्रममा राजगुरु मञ्जुश्री रत्न बज्राचार्यले भगवान् बुद्धको जन्मस्थल नेपालमा बज्रयान बौद्धधर्मको विशेष महत्व रहेको बताउँदै नेवार समुदायको मौलिक पहिचानका रुपमा रहेको दे आचार्य गुठीलाई विदेशमा पनि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।