विश्व सम्पदामा सूचीकृत लुम्बिनी संरक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षणमा प्रतिकूल असर गर्ने गरी निजी उद्योग दर्ता गरेको र त्यसले यो क्षेत्रमा गम्भीर असर गरेको भन्दै बुधबार रिट दर्ता भएको हो । केही व्यक्तिको स्वार्थपूर्तिको लागि प्रदूषणयुक्त निजी उद्योगलाई स्वीकृति प्रदान गर्नु संविधान, विभिन्न राष्ट्रिय कानुनी व्यवस्था, औद्योगिक प्रवर्द्धन बोर्डको निर्णय तथा अन्तराष्ट्रिय कानुनविपरीतको कार्य हो भन्दै सम्पदा संरक्षण अभियन्ताले रिट दायर गरेका हुन् । प्रधानमन्त्री कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग विभाग, सडक विभाग, लुम्बिनी विकास कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल नेसनल कमिसन फर युनेस्को, जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई विपक्षी बनाइएको छ । त्यसैगरी यस क्षेत्रमा सञ्चालित उद्योगहरु सुप्रिम सिमेन्ट प्रालि, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, रिलायन्स सिमेन्ट, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट, अग्नि सिमेन्ट, कैलाश सिमेन्ट, विशाल सिमेन्ट, अर्खाखाँची सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, श्याम प्लाइउड, हिमालयन स्न्याक्स एन्ड नुडल्स, सिद्धार्थ आयल इन्डस्ट्रिजसहितलाई विपक्षी बनाइएको छ ।
संसारका १ अरब ६० करोड बौद्ध धर्मावलम्बी तथा हिन्दुले समेत दसौं अवतार मान्ने भगवान् गौतम बुद्धको तीर्थ स्थललाई उद्योगले विस्तारै धराशायी बनाउँदै लगेको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी, सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ, काठमान्डू स्कुल अफ ल मा अध्ययनरत सञ्जय अधिकारी, अधिवक्ता पंकज कुमार कर्ण, काठमाडौं महानगरपालिका(१० का भूपेन्द्रप्रसाद पौड्याल, काठमाडौं(१४ का आशुतोष भुसालले रिट दायर गरेका हुन् ।
यस क्षेत्रमा सञ्चालित ६१ वटा उद्योगबाट निस्कने प्रदूषित हावा तथा रासायनिक पदार्थले यस क्षेत्रमा रोग तथा असर देखिएको रिटमा उल्लेख गरिएको छ । ’यदि लुम्बिनी क्षेत्रको प्रदूषण नियन्त्रण नगर्ने हो भने त्यस क्षेत्रका ब्रह्माण्डमै अतुलनीय मूल्य भएका अशोक स्तम्भ, शिलालेख, मूर्ति, तथा अन्य वस्तुहरु नाश भएर जाने अवस्था रहेको छ,’ रिटमा छ, ’त्यसैगरी त्यस क्षेत्रका प्रदूषणजन्य उद्योगबाट निस्केको धूँवा, धूलो आदिले त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पारेको, विश्वव्यापी रूपमै संकटमा परेको सारस चराको बासस्थान र उक्त चराको जीवन संकटमा परिरहेको, माटोको प्रकृति नै परिवर्तन गरिदिएको, कृषि उत्पादनमा ह्रास आएको र जैविक विविधतामा पनि प्रतिकूल असर परेको देखिएको छ ।’
अशोक स्तम्भ मक्किँदै गएकाले यसलाई संरक्षण गर्न पनि माग छ । मौर्य सम्राट अशोकले संसारका विभिन्न भागमा राखिएका प्रसिद्ध स्मारकमध्ये एक हो अशोक स्तम्भ । यो पुरानो स्तम्भ हो । ईशापूर्व २४९ मा स्थापित स्तम्भ ६ मिटर अग्लो छ । अशोक स्तम्भमा भएको शिलालेखमा गौतम बुद्धको जन्म लुम्बिनीमै भएको उल्लेख गरिएको छ । मायादेवी मन्दिरसँगै छ अशोक स्तम्भ । वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीका अनुसार प्रदूषण, जिप्सम र सिमेन्टको धूलोले स्तम्भलाई कमजोर बनाउँदै लगेको छ । अशोक स्तम्भबारे तीन वर्षसम्म अध्ययन गरिएको थियो । अध्ययनले स्तम्भमा विभिन्न हानिकारक तत्त्व टाँसिएको देखिएको थियो । तीन वर्षअघि भन्दा अहिले प्रदूषण दोब्बर भएको छ । यसले असर झन् बढेको बिडारी बताउँछन् । युनेस्कोको परामर्शदाता तथा ढुुंगा विशेषज्ञ कन्स्टयान्टिनो म्युचीले स्तम्भको सूक्ष्म अध्ययन गरेका थिए । स्तम्भमा आईआर क्यामेरा र आधुनिक उपकरण गरेर अनुसन्धान गर्दा सिमेन्टको कण, जिम्सम, क्रिस्टल र साना ढुंगा टाँसिएको पाइएको थियो । स्तम्भको बाहिरी क्षेत्रमा सल्फर, धूवाँधूलो प्लास्टिकको टुक्रा पाइएको थियो । स्तम्भ भारतको बनारसनजिकको चुनार पहाडबाट ल्याइएको ढुंगाबाट बनाइएको थियो । ’बुद्ध लुम्बिनीमा जन्मिएको अकाटय प्रमाण हो अशोक स्तम्भ,’ रिटमा माग गरिएको छ, ’त्यसकारण यसको संरक्षणमा लाग्नै पर्छ ।’
कान्तिपुरबाट साभार