ललितपुरको चापागाउँमा मूर्ति चोरलाई कारबाहीको माग राख्दै स्थानीय आन्दोलित भएका छन् । आज बिहान ८ बजेदेखि उनीहरुले सडक बन्द गराएपछि आवागमन अवरुद्ध बनेको छ । स्थानीयले चोरमाथि कारवाही गर्न प्रहरी प्रशासनलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताएका छन् । चापागाउँस्थित चिवाह चैत्य अगाडिको सडकमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
आन्दोलनकारीहरुले सांस्कृतिक सम्पदा र मूर्तिहरु चोरी हुँदा पनि प्रहरी मौन रहेको आरोप लगाएका छन । प्रदर्शन स्थानीय किशोर देसारको नेतृत्वमा भएको हो । झण्डै तीन दर्जन प्रदर्शनकारीहरुले ऐतिहासिक मठ, मन्दिर र मूर्तिको रक्षा गर्नुपर्ने माग गरेका छन् । ‘हाम्रो कला संस्कृति प्यारो छ’ भन्ने नारा पनि लगाएका छन् ।
ललितपुरको चापागाउँमा रहेको तीन शताब्दी पुरानो ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको हो । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति केही दिनअघि चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको स्थानीय राजाराम श्रेष्ठले बताए ।

