निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण

कपिलवस्तुको निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तु नगरपालिका–११, अरौराकोटमा कनकमुनि बुद्ध र कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुछन्द बुद्धका साढे ६ फिट अग्ला र ३० इन्च चौडाइका प्रतिमा स्थापना गरिएका हुन् ।

पर्यटकीय आकर्षण थप्न प्रदेश सरकारले उनीहरुकै जन्मस्थलमा बगैंचा–पार्कसहित पूर्ण कदका बुद्ध प्रतिमा स्थापना गरिएको हो । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध प्रतिमाको अनावरण गरेका हुन् ।

गोटिहवामा ६० लाख १७ हजार ८ सय ५६ रुपैयाँको लगतमा क्रकुछन्द बुद्धको मूर्तिसहितको बगैँचा बनाइएको छ । यस्तै, आरौराकोटमा ९० लाख ६ हजार ७ सय ९९ रुपैयाँ लगतमा कनकमुनि बुद्धको मूर्तिसहितको बगैँचा निर्माण गरिएको छ । डिभिजन वन कार्यालय र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मूर्ति र बगैँचा निर्माण गरिएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, करैहियाका मूर्तिकार गोविन्द चौधरीले सात महिना लगाएर मूर्ति बनाएका थिए । मूर्ति पित्तलको धातुबाट बनाइएका हुन् । एउटा मूर्तिको तौल एक क्विन्टल रहेको चौधरीले जानकारी दिए ।

भद्र कल्पमा जन्मेका कनकमुनि र क्रकुच्छन्द बुद्ध पाँचौं र छैटौं बुद्ध हुन् । शाक्यमुनि सातौं बुद्ध मानिन्छन् । बुद्ध जन्मस्थल लुम्बिनी नजिकै भएर पनि राम्रो मूर्ति नहुँदा यी क्षेत्री पर्यटकीय हिसावले पछि परेका थिए । लुम्बिनीसँग जोडेर पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित यहाँ प्रतिमा स्थापना गरिएको प्रदेश सरकारले जनाएको छ ।

आज थेरवादी सम्प्रदायका भिक्षु र महायानी सम्प्रदायका लामाले मंगल पाठ गरेपछि मुख्यमन्त्री पोखरेलले बौद्ध परम्परा अनुसार प्रतिमा अनावरण गरेका थिए । प्रतिमा स्थापना पछि ओझेलमा परेको प्राचीन नगरको महत्वलाई उजागर गनविश्वास गरिएको छ । यसले शान्ति पर्यटनमा टेवा पुर्याउनुका साथै पर्यटकीय गतिविधि बढवा हुने विश्वास गरिएको छ ।

मूर्ति अनावरण पछि बोल्दै मुख्यमन्त्री पोखरेलले जनताको जीनवस्तरलाई उठाउन पर्यटनलाई जोड्ने प्रदेश सरकारको नीति रहेको बताए । ‘अगामी दिनमा पर्यटकीय गन्तव्यका जति पनि महत्वपूर्ण क्षेत्रहरु छन्, ती क्षेत्रको विकासमा सरकार लाग्छ’, उनले भने । उनले लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटिहवा, निग्लिहवा लगायतका क्षेत्रहरुले हाम्रो ऐतिहासिकतालाई प्रतिनिधित्व गरेको बताउँदै यी ठाउँको विकास गर्न प्रदेश सरकार लागि परेको बताए ।

Share

Related posts