नेपालको बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका विभिन्न स्थानमा बुद्ध शिक्षा तथा धर्म देसना भइरहेको छ । विभिन्न स्थानमा सुरु भइरहेको ३ महिने बुद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये पुस २७ देखि चैत २८ सम्म जारी रहने कार्यक्रम संयोजक काइला लामाले बताए ।
हेलम्बु गाउँपालिका वार्ड ६ को इचोक लामाटोलमा रहेको ज्याङ ह्युक सेम्ब गुम्बामा भइरहेको प्रशिक्षण शिविरमा स्थानीय सहभागि भइरहेका छन् । प्रशिक्षण शिविरको औपचारिक उद्घाटन नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो छुल्ठिमले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा खेन्पो छुल्ठिमले त्रिशरण, पञ्चशील र चार आर्य सत्यको महत्व र आवश्यकताको बारेमा प्रवचन दिनु भएको थियो ।
पुस २८ देखि निरन्तर जारी प्रशिक्षण शिविरमा सम्भोटा लिपीको शिक्षा सहित बौद्ध धर्मको महत्व, यस भित्र रहेका ज्ञानहरु, बुद्धको जीवनी, गुरु रिन्पोछेको जीवनी तथा मन्त्रको महिमा लगायतका विषयमा शिक्षा दिइने छ । प्रशिक्षण शिविर साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गरिएको छ ।