त्रिपिटकको ’अत्तदण्डसुत्त’बाट सिद्धार्थ गौतमले दरबार छोड्नुको खास कारण प्रस्ट हुन्छ । तत्कालीन समाजमा युद्धहरू भइरहन्थे । मानिसहरू ससानो निहुँमा एकअर्काको ज्यान लिन तम्सिन्थे । बुद्धको हृदय सानैदेखि करुणायुक्त भएको हुँदा उनलाई काटमारमा सहभागी हुन या रमिता हेरेर बस्न मन भएन । उक्त सुत्तमा भनिएको छ- ‘आफन्तहरूबीच एकअर्काका विरुद्ध शस्त्र उठाएको हेर्नु भयावह थियो । जसरी पानी बिना माछा छटपटाउँछन्, उसैगरी हिंसायुक्त समाजमा मानिसहरू तड्पिइरहेका थिए ।’
सुत्तनिपातको ’पब्बज्जा सुत्त’मा बुद्धका शिष्य आनन्दले भनेका छन् ( घरगृहस्थीमा बस्नु संकटपूर्ण र अशान्तिपूर्ण छ । प्रब्रज्यामा खुला आकाशमा जस्तै स्वतन्त्रता हुन्छ । यस्तो देखेर बुद्धले घर त्यागे।
त्यसैगरी प्रब्रज्याबारे त्रिपिटककै ’अरियपरिसेन सुत्त’ले महत्वपूर्ण तथ्य बताउँछ । यो सुत्तमा बुद्धले भनेका छन्( ’हे भिक्षुहरू, पहिला म पत्नी, दासदासी इत्यादिमा सुख छ भन्ने सोच्थेँ र तिनैको पछि लाग्थेँ । उमेर बढ्दै थियो तर बुढ्यौली, रोग, मृत्यु र शोकको चक्करमा फँसेको थिएँ । तब मेरो मनमा यो विचार आयो, म स्वयं जन्म, मरण, रोग र शोकसँग सम्बद्ध छु तैपनि यिनै दुःखहरूसँग सम्बद्ध पत्नी, पुत्र आदिमा आशक्त छु । यो त ठीक भएन । मैले त जन्मरहित, रोग र शोकरहित अमरताको परम अवस्था निर्वाणको खोजी गर्नु उचित हुन्छ ।’
यसबाट प्रष्ट हुन्छ, सिद्धार्थ गौतमले कतिपयले विद्वानले दावी गरेजस्तो शाक्य कुलको कोपभाजनमा परेर भन्दा पनि निर्वाणको चाहले नै दरबार त्यागेका थिए ।