बृहत्तर लुम्बिनीको विकास हुन्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताए । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले यसको विकास सरकारको प्राथमिकतामा रहेको दावी गरे ।

“मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अब बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ”–मन्त्री भट्टराईले भने । लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ छ । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै विमानस्थलसँगै मायादेवी मन्दिर, देवदह, सैनामैना, तिलौराकोटलगायतका क्षेत्रहरुलाई एक अर्कासँग जोड्नुपर्ने बताए ।

लुम्बिनी क्षेत्रमा रहेका सबै ठाउँहरुको आ–आफ्नो महत्व रहेको बताउँदै उनले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई एक साता यहाँ बिताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कोरियाली प्राध्यापक क्वाकले अघि सारेको लुम्बिनी विकासको योजनालाई पनि सरकारले प्राथमिकतामा राखेको र यसलाई पनि कार्यान्वयन गर्नु आवश्यक रहेको उनले बताए ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्राध्यापक क्वाकले शान्ति शहरको गुरुयोजना कोरेका थिए । उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । पाँच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका गाउँ समेटिनेछन् ।

Share

Related posts