बौद्ध धर्मावलम्बीका लागि किन विशेष र महत्वपुर्ण छन् यी ४ स्थान ?

गौतम बुद्धले करिब २६ सय वर्ष अघि प्राप्त गर्नु भएको ज्ञानको महत्व अहिले पनि उत्तिकै छ । अहिले विश्वका हरेक देशमा बुद्धको ज्ञान र सिद्धान्तको अनुशरण गर्नेको संख्यामा दिन प्रतिदिन बढिरहेको पाइन्छ । बुद्ध र बुद्धले दिएको ज्ञानको महत्व बढ्दै जाँदा बुद्धसँग सम्बन्धित स्थानहरुको पनि महत्व निकै नै छ । लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर गौतम बुद्धको प्रत्यक्ष जीवनकालसँग जोडिएका विशेष स्थान हुन् । यी चारवटै स्थानको बुद्धको जीवनमा विशेष महत्व रहेको छ ।

लुम्बिनी
गौतम बुद्धले पहिलो आँखा उघारेको स्थान हो लुम्बिनी । लुम्बिनीमा शाक्य वंशमा राजकुमारको रुपमा गौतम बुद्धको जन्म भएको थियो । बाल्यकालदेखि नै अन्य बालकभन्दा फरक स्वभाव देखाउँदै आउनुभएका बुद्ध २९ वर्षको उमेरसम्म लुम्बिनीमा बस्नु भयो । लुम्बिनीबाटै ज्ञानको खोजीमा एकरात उहाँले सम्पुर्ण दरबारी सुखसयल त्यागेर हिड्नुभयो । बुद्धको जन्मस्थल तथा ज्ञानको खोजीमा निस्कनु अघि २९ वर्ष विताएका कारण लुम्बिनी बौद्धमार्गीका लागि पवित्र स्थानको रुपमा स्थापित बनेको छ । वर्षेनी हजारौँको संख्यामा संसारभरका बौद्धमार्गी लुम्बिनी पुग्ने गरेका छन् ।

बोधगया
ज्ञानको खोजीमा निस्कनु भएका गौतम बुद्धले ६ वर्षभन्दा बढि समय बोधगयामा बिताउनु भयो । बोधगयामै ध्यानमा रहेका बेला उहाँलाई बुद्धत्व प्राप्ति भएको थियो । आफुले प्राप्त गरेको ज्ञानलाई उहाँले करिब ७ हप्तासम्म त्यही बसि परिमार्जन गरी अनुयायीहरुलाई बाँढ्नु भएको थियो । बुद्धले ६ वर्षसम्म साधना गरी ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरेको स्थान भएका कारण बोधगया बौद्ध धर्मावलम्वीका लागि पवित्र तिर्थस्थल बनेको छ । हाल भारतको विहार राज्यमा पर्ने बोधगयामा पनि वर्षेनी हजारौ अनुयायी पुग्ने गरेका छन् ।

सारनाथ
सारनाथ पनि बौद्ध धर्मावलम्वीका लागि महत्वपुर्ण स्थान हो । गौतम बुद्धले आफुले पाएको ज्ञान पहिलोपटक सारनाथमै आफ्ना ५ शिष्यहरुलाई प्रदान गर्नु भएको थियो जसलाई धर्मचक्र प्रर्वत्तन चक्रको नामले चिनिन्छ ।

कुशीनगर
गौतम बुद्धले आफ्नो जीवनको अन्तिम क्षण बिताउनु भएको स्थान हो कुशीनगर । ८० वर्षको उमेरमा बुद्धले कुशीनगरमै महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो । बुद्धको महापरिनिर्वाण भएको स्थान भएका कारण कुशीनगर पनि बौद्ध धर्मावलम्वीका लागि पवित्र र आफ्नो जीवनकालमा सकेसम्म पुग्नै पर्ने स्थान मानिन्छ ।

Share

Related posts

Leave a Comment