विश्व शान्ति पूजा सम्पन्न, ६ सय भन्दा बढि धर्मगुरु सहभागि

नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा सोमबार सम्पन्न भएको छ । काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा भएको पूजामा बौद्ध धर्मका त्रियान अन्तर्गतका महायान, बज्रयान र थेरवादका धर्मगुरुहरु सहभागि भई पूजामार्फत विश्व शान्तिको कामना गरेका थिए । विश्व शान्ति पूजा बौद्ध धर्मावलम्वीले विश्व शान्तिको कामना गर्दै सम्पुर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिको लागि गर्ने गरेका छन् ।

छोग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न पूजामा १३ जिल्लाबाट करिब ६ सय ५० लामा, भन्ते तथा आनीहरु सहभागि भएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । तीनवटै सम्प्रदायका धर्मगुरु तथा आनीहरुले फरक फरक स्थानबाट मन्त्रोच्चारण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।

पूजामा महायानी धर्मगुरुबाट कोन्च्यो चिदीछोक पूजा, प्राणी दान पूजा सांग्च्यो मोलाम पाठ, सुत्रिपिटक दोमाङ पाठ, कुसुङ थु मेण्डल चढाउने, ङोवा मोलाम र दीर्घायू अभिषेक पूजा गरिएको थियो ।

त्यस्तै थेराबाद धर्मगुरुहरुले धर्मचक्र सुत्र, सच्चविभंग सुत्त, पट्ठान पाली, गिरिमानन्द सुत्त, अटानाटिय सुत्त पाठ गरेका थिए ।

बज्रयान धर्मगुरुहरुले नौ ग्रन्थ सुत्र पाठ पूजा पश्चात बज्रयान समूहबाट रुमाल र कसागा दान, पूजापाठ सम्पन्न भएपछि पिण्ड पात्र र संघको समितिले दक्षिण दिने लगायत गरिएको थियो ।

पूजामा आर्यमञ्जुश्री नाम संगति सेवा संघ ललितपुरबाट ३६ जनाले मञ्जुश्री पाठ गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि छोग्याल रिन्पोछेको स्वागतका चर्या नृत्य समेत प्रस्तुत गरिएको थियो । पूजामा सहभागि भएका धर्मगुरुहरुले संघले आयोजना गरेको पूजाले बौद्ध धर्मभित्र रहेका परित्राण, धर्मचक्रपर्वत्तन सुत्र, प्रज्ञा पारमिता लगायतको संरक्षणमा मद्दत पुग्ने बताए ।

फोटो : साधुराम थापा

Share

Related posts