बौद्ध धर्म उत्थानको कारण यस्तो छ

अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ ।

वैदिककालमा विषेश गरि दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ ब्राह्मणवाद र स्रमणवाद । ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए । स्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधिपुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो। पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो ।

ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जीवनको मोहमा फस्दै गए । धर्मको डर, त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्श्निक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनाको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्श्निक धार प्रतिपादन गरेका थिए । समाजमा हिंसाविरोधी मत बलियो देखिन थाल्यो, होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो, होमाथिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो । यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचार विमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गौतम वुद्धको जन्म भएको थियो।

बुद्धले आफ्ना शिक्षालाई धम्म (विनय) भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दुस्खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छन् ।

बुद्धले दुःख मुक्तिसँग सरोकार नराख्ने दार्श्निक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, “भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछुः दुःख र दुःखमुक्तिको उपाय ।“ बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छः शील, समाधि र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःखमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ । चार आर्यसत्यहरू यस प्रकार छन् ।

दुःखः दुःख छ भन्ने कुरा र यसको अवस्थाको बोध
दुःखको कारणः दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध
दुःखको निवारणः दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
दुःखको निवारणको मार्गः दुःखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना । आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ ।

Share

Related posts