गोन्पाबारेको अभिव्यक्ति सच्याउन माग गर्दै एमालेलाई बौद्ध महासंघको ध्यानाकर्षणपत्र

काठमाडौँ, असोज १९ । नेपाल बौद्ध महासंघले नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले संसद्मा बौद्ध गोन्पाहरूबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) र कोषाध्यक्ष पेमा दोन्देन गुरुङले सोमबार बिहान एमाले केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई उक्त पत्र हस्तान्तरण गर्नुभएको हो।

असोज १८ गतेको ध्यानाकर्षणपत्रअनुसार, थापाले गत भदौ ३ गते प्रतिनिधिसभाको बैठकमा अघिल्लो वर्षको जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार गोन्पाहरूमा लुकाइएको हुन सक्ने र त्यहाँ शक्ति सङ्ग्रह भइरहेको आशङ्का व्यक्त गर्नुभएको थियो। महासंघले उक्त अभिव्यक्तिलाई तथ्यहीन, भ्रामक र पूर्वाग्रहपूर्ण भन्दै भर्त्सना गरेको छ। यसअघि भदौ १० गते पनि महासंघले प्रेस विज्ञप्तिमार्फत विरोध जनाएको थियो।

गोन्पाहरू कुनै एक समुदायका मात्र नभई बुद्धले दिनुभएका अहिंसा, करुणा, शान्ति र परोपकारका शिक्षाको अध्ययन तथा अभ्यास गर्ने पवित्र आध्यात्मिक केन्द्र भएको महासंघले स्पष्ट पारेको छ। शान्ति, सहिष्णुता र राष्ट्रिय एकताका लागि समर्पित यस्ता संस्थालाई देशको सुरक्षामा खतरा उत्पन्न गर्ने स्थलका रूपमा चित्रण गर्नु भ्रामक भएको पत्रमा उल्लेख छ।

संसद्जस्तो गरिमामय स्थानबाट आएको यस्तो अभिव्यक्तिले बौद्ध समुदायको मानमर्दन गर्नुका साथै नेपालको बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा भ्रम र धार्मिक द्वन्द्व निम्त्याई सामाजिक सद्भाव खल्बल्याउने जोखिम बढाएको महासंघको ठहर छ।

महासंघले थापाको अभिव्यक्ति सिङ्गो एमालेको आधिकारिक धारणा हो वा होइन भन्ने स्पष्ट पार्न र उक्त अभिव्यक्ति सच्याउन माग गरेको छ। मागको सुनुवाइ नभए आम बौद्ध समुदाय सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत पत्रमा दिइएको छ।

Share

Related posts

Leave a Comment