आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको कोन्ज्योसोम गाँउपलिकामा निर्माणाधिन कोन्ज्योसोम त्रिमूर्तिका निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयबासीको मनोभावना र पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यका साथ कोन्ज्योसोम त्रिमुर्ती निर्माण गरिएको हो । सातोदोबाटोबाट करिब ३० किलोमिटर दक्षिण लागेपछि यहाँ पुग्न सकिन्छ । फुल्चोकीबाट नजिकै पर्ने त्रिमूर्ति स्थानीय जनताको मनोभावनालाई ध्यानमा राख्दै गुरु रिन्पोचे, चेङ्ग्रेसी र गौतम बुद्धको मुर्ति निर्माण थालिएको हो । पर्यटन मन्त्रालय र स्थानीय सरकारको सहकार्यमा निर्माण भइरहेको त्रिमूर्तिका लागि मन्त्रालयले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत गरेर जम्मा चाढे चार करोड लगानीमा बनाइएको हो ।
निर्माण सम्पन्न भएपछि यस त्रिमुर्तिलाई संरक्षण र सर्वद्धन गर्नका लागि विकास समिति बनाएर यस क्षेत्रलाई पर्यटन हब बनाउने गाउँपालिका अध्यक्ष कृष्णलाल साङतान बताउँछन ।
समुन्द्री सतहदेखि करिब २ हजार ६ सय ७४ फिट उचाईमा रहेको फुलबारी डाडाँबाट जुगल हिमाल र हेटौडा बजारसम्मको दृश्याअवलोकन गर्न सकिन्छ । यस कोन्ज्योसोम गाँउपालिकाका बासिन्दा कृषी पेसा र पशुपालनमा आधारित छन् । यहाँ बौद्धमार्गी तामाङ, लामा लगायत जातीको बाहुल्यता भएको कारण पनि यहाँ बुद्धको मुर्ति निर्माण गरिएको हो ।
यहाँसम्म पुग्नका लागि सडक, बाटोको समस्या भएकाले स्थानिय सरकारले सहज यात्राका लागि छिटै सडक निर्माणको लागि विशेष पहल गर्ने जनाएको छ ।
सियम, ज्ञानज्योती र पेपुङ जेभि निर्माण कम्पनीबाट निर्माण भइरहेको कोन्ज्योसोम त्रिमुर्तिको निर्माण अन्तिम चरणमा पुगेको छ र केही समयमै निर्माण सम्पन्न गरेर पालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको निर्माण कम्पनीको भनाई छ ।
पछिल्लो समय मानिसहरुमा नयाँ नयाँ ठाउँ घुम्ने रमाइलो गर्ने क्रम बढ्दो छ । काठमाडौबाट करिब डेढ घण्टामा पुग्न सकिने यस्ता ठाँउलाई प्रचार गर्न सके स्थानीय बासिन्दाको आर्थिक उन्नतीमा टेवा पुग्ने देखिन्छ ।

