बौद्ध मिथकमा आधारित उपन्यास “हल हल बुंगद्यः” को विमोचन

बौद्ध मिथकमा आधारित नेपाल भाषाको उपन्यास “हल हल बुंगद्यः” जनकवि दुर्गालाल श्रेष्ठको हातबाट विमोचन गरिएको छ । राजेन मानन्धरद्वारा लिखित उक्त उपन्यास कुनै बेला नेपालमा अनिकाल हुँदा सहकालका देवता भनेर चिनिने करुणामय अवलोकेश्वर अर्थात् रातो मछिन्द्रनाथलाई नेपालमा ल्याइएको मिथकको आधारमा रचना गरिएको छ ।

काठमाडौं उपत्यकाका नेवार बौद्धहरु बोधिसत्वको रुपमा जन्मेका करुणामयलाई कामुनी देश अथवा हालको कामारुप कामाक्षबाट ल्याइएको तथा उनको आगमन पछि नेपालमा सहकाल आएको विश्वास गर्दछन् । हिन्दु धर्मावलम्वीले पनि करुणामयलाई मत्येन्द्रनाथको रुपमा मान्दछन् ।

विमोचन कार्यक्रममा बोल्दै कवि दुर्गालालले मानन्धरलाई चिनेदेखी सहृदयी भएकोले मनमा बसेको तथा एक सक्रिय निवन्धकार पनि भएको बताए । कृतिमाथि टिप्पणी गर्दै समालोचक एवं उपन्यासकार मल्ल के सुन्दरले यो उपन्यास नेपालभाषा साहित्यकै क्षेत्रमा सबैभन्दा लामो भएको तथा लेखकले धार्मिक सामाग्रीलाई उपयोग गरी नयाँ शैलीबाट लेखेको बताए ।

यो उपन्याससँगै कार्यक्रममा इन्द्र मालीद्वारा संकलित शव्दकोष “नेपालभाषा यासुधुकू” तथा भुषण प्रसाद श्रेष्ठद्वारा लिखित गजल संग्रह “छन्द १०१ व नेवाः गजल”को पनि विमोचन भएको थियो ।

Share

Related posts

Leave a Comment