कथिन चिवर दान र यसको महत्व

भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्म कोविद”
अध्यक्ष–अ.बु.प.उ.विहार, बुटवल

उपसम्पदा भिक्षुहरुलेहरेक बर्ष तीन महिनाको बर्षाबास अधिष्ठान गरि आसार पूर्णिमाको दिन संघउपोसथ गरेबाट सुरुबात भएर आश्विन पूर्णिमासम्ममा विनय पूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरेदेखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सब भनिन्छ ।

पावाकातिंस वर्गी (३०जना) भिक्षुहरु जो आरण्य(जंगल) बासी, पिण्डपात (भिक्षाटन) मात्र गरेर भोजन गर्ने, तीन चीवर मात्र प्रयोग गर्ने विनयधर शीलवान हुनुहुन्थ्यो । पावा महत्वपूर्ण ठाउँ हो । यो हालमा भारतको पूर्बि विहार राज्यमा पर्दछ । यहिँ ठाउँमा पतन्जली योग विद्याका निर्माताको जन्म भएको थियो । यहिँ ठाउँमा जैन धर्मका प्रवर्तक महावीरको जन्म भएको थियो ।उहाँ तीस वर्गी स्थविर भन्तेहरु एक वर्षाबास भगवान बुद्धसंगसँगै विताउने मनसायले श्रावस्तीकालागी प्रस्थान गर्नुभयो तर उहाँहरु आउँदा आउँदै बाटैमा बर्षवास सुरुभयो । साकेत भन्ने ठाउँमा अहिलेको “अयोध्या” आएपछि बर्षाबास सुरुभयो । उहाँहरु त्यहिँ बर्षाबास बस्नुप¥यो । नचाहँदा नचाहँदै विवसताले त्यहीं बस्नुप¥यो । भगवान हामी बसेको ठाउँबाट धेरै टाढा हुनुहुन्न जम्मा छ योजन मात्रै (६०कि.मि.जति) तर पनि हाम्रो उहाँ सँगै बर्षाबास विताउने इच्छा पूरा हुन पाएन भनि मनमा विचारहरु आईरहेको थियो । जेनतेन समयको बावजुत उहाँहरुले ३ महिना गुजारा गर्नुभयो । ३ महिना विताएर उहाँहरुश्रावस्ताीका लागी प्रस्थान गर्नुभयो ।

भिक्षु ज्ञानेन्द्र स्थविर

बाटोमा जाँदा अझै बर्षा भईरहेको थियो, ठाउँठाउँमा पानी जमेको खाल्टाखुल्टी , उहाँहरुले लगाएको चीवरहरु पानीले भिज्यो र चीवरहरुमा हिलो लाग्यो । आफ्नो गन्तब्य स्थान श्रावस्तीसम्म आईपुग्दा उहाँहरुको बेहाल भएको थियो, शारीरिक, मानसिकरुपमा धेरै थकित हुनुभएको थियो । त्यहाँ पुगेर भगवानलाई वन्दना गर्न जानुभयो, अलि टाढा बसेर बन्दना गर्नुभयो । भगवानले भलाकुसारी गर्नुहुँदै सबैलाई सोध्नुभयो । भिक्षुहरु बर्षाबास राम्रै भयो ? बर्षाबास कसरी बित्यो ?यापन योग्य भयो त ? केही समस्या भयो कि ? भोजन आदि इत्यादि ब्यवस्था पर्याप्त थियो कि थिएन ? भिक्षुहरु, एकमतले प्रेमपूर्वक विवादरहित भएर बर्षाबास मेलमिलाप भएर वितायौ ?

उहाँहरुको जवाफ थियो, हामीलाई पिण्डपात पर्याप्त थियो । हामी सबै मिलेर बस्यौं तर हाम्रो त्रि–चीवर मात्र भएको कारणले बर्षाको पानीको कारणले भिजेको, हिलोले चीवरहरु पनि हिलाम्य भयो । त्रिचीवर विधानको कारणले फेर्ने चीवर नभएर धेरै सास्ती भोग्नुप¥यो भनी भगवानलाई यसरी विन्ती चढाउँदा, त्यसै बेला भगवान बुद्धले भिक्षुहरुलाई सम्बोधन गर्दै भन्नुभयो, जो भिक्षुहरुले विनयपूर्वक ३ महिनाको बर्षावास सम्पन्न गर्दछन, उनीहरुलाई कथिन चीवरको सुविधाको घोषणा गर्दछु । जसअन्र्तगत भिक्षुहरुलाई पाँचवटा सुविधाहरु उपलब्ध हुनेछन् ।

त्रि–चीवर विधान
राजगृहबाट चारिका गर्दै भगवान भिक्षुसंघ सहित बैशाली जानुभयो । त्यहाँ भिक्षुहरुले चीवरको पोकाको पोका बोकेर हिंडेको देख्नुभयो । तब यी नालायकहरु छिट्टै संग्रह गर्न लाग्नेछन् भनी सच्नुभयो । त्यस समय माघ फागुनबीच अति जाडो थियो । हेमन्त ऋतुको एकरात हिमपातको समय खुल्ला स्थानमा एउटा चीवर लिएर बस्नुभयो । प्रथम याम १० बजेपछि जाडो भएर आउँदा दोस्रो चीवर ओड्नु भयो र जाडो हट्यो । फेरी द्वितिय याममा २ बजेपछि जाडो भएर आउँदा तेस्रो चीवर ओड्नु भयो र जाडो हट्यो । विहानपख फेरी जाडो हँुदाचौथो चीवर ओड्नुभयो र जाडो हट्यो । जाडो अनुसार दुईवटा, तीनवटा, चारवटा चीवर ओड्नुभयो । परिक्षणबाट तीन चीवरभन्दा बढि आवश्यकता नहुने अनुभव गर्नुभयो तब भिक्षुहरुलाई आमन्त्रण गर्नुभएर भन्नुभयो । भिक्षुहरु ! तीन चीवर(त्रीचीवर) को अनुज्ञा दिन्छु । दोहोरो संघाटी, एकोहोरो उत्तरासंघ, एकोहोरो अन्तरवासक । यसरी लोभ चेतनाबाट मुक्त हुन त्रि–चीवर तीन वटा मात्र चिवर प्रयोग गर्ने नियम बनेर आयो ।

कथिन शब्दको अर्थ
यो कथिन चीवर उत्सव साधारण रुपमा गर्न नसकिने, विशेष योग्यता पु¥याउनु पर्ने हुनाले यसलाई कथिन भनिन्छ । तर कथिन नेपाली कठिन शब्द नभएर पालि शब्द भएकोले गर्नै नसकिने गाह्रो भन्ने अर्थ लाग्दैन । यसको विशेष अर्थ चाहि दृढ, भरिलो, दरिलो, गुणसम्पन्न, ठोस भन्ने हो ।

अट्ठकथाको कथिन खन्दक र विनय पिटकमा कथिनको अर्थ धेरै चिजहरुलाई एकैठाउँमा जोड्नु वा जोडाई भनेर अथ्र्याइएको छ ।(ऋयलनयिmभचबतष्यल० ष्त mभबलक दचष्लनष्लन तजष्लनक तयनभतजभच, क्ष्त ष्क ब अयलअभउत तजबत बचष्कभक दभअबगकभ या अभचतबष्ल तजष्लनक तजबत अयmभ तयनभतजभच ।

कथिन चीवर उत्सव मनाउन निम्न सर्तहरु पूर्ण भएको हुनुपर्छ ।
१. बर्षावास बसेको हुनुपर्ने ।
२. बर्षावास बसेर पनि बर्षावासको नियम पूरा हुनुपर्ने वा सप्ताहकरणमा कुनै त्रुटि हुनु हुँदैन ।
३. बर्षावास समप्त भयो कथिन चीवर दान उत्सब गर भनेर बर्षावास बस्ने भिक्षुले भन्न पाउँदैन ।
४. उपासकउपासिकाले मात्र स्वेइच्छाले चाहेमा कथिन गराउन सक्छ । उचित तरिकाबाट प्राप्त चीवर हुनुपर्छ (दातालाई
कुनै करकाप नगरिएको स्वईच्छाले दान गरिएको जस्तै आकाशबाट पानी झरे झैं हुनुपर्छ )
५.जुन कथिनको उत्सबको महिना हो त्यस एक महिना अवधिमा एउटा मात्र कथिन चीवर दान उत्सब मनाउन सकिन्छ।
६. कम्तिमा उपसम्पन्न ५ वर्गी भिक्षु संघहरु पूरा भएको हुनुपर्ने । बढिमा १,००,००० भएपनि हुन्छ ।

कथिन दान
दाताहरुले कथिन चीवर दान गरिसकेपछि यसले मूर्तरुप लिन यो छ वटा प्रक्रिया पूरा गर्नुपर्छ ।
१. दाताले कथिन चीवर भिक्षु संघलाई प्रदान गर्ने ।
२. संघबाट एक वर्गी उपयुक्त भिक्षुको छनोट गर्ने ।
३. कथिन चीवरलाई ब्यक्तिगत चीवरमा परिणत गर्ने ।
४. कथीन चीवर कपडा चीवरको रुपमा परिणत गर्ने ।
५. कथिनलाई फैलाउने, संघसामु कथिन चीवर प्रकाशपार्नु, आवश्यकता भएकोलाई विनयपूर्वक हस्तान्तरण गर्नु ।
६. कथिनलाई फैलाइएकोमा अनुमोदन गर्नु, त्यसमा हर्षित हुनु सहभागी हुनु । दायद हुनु, अंशियार हुनु।

कथिनदान दिने ब्यक्ति
१. देवता
२. गृहस्थ स्त्री वा पुरुष
३. भिक्षु
४. भिक्षुणी
५. सामणेर

कथिन उत्सब सूर्य उदाउने समयमा गर्नुपर्छ । सङघाटी, अन्तरबासक, उत्तरासंघ मध्ये एकलाई कथीन चीवरको रुपमा दान गर्नुपर्छ । दान पाएको चीवर संघले भिक्षुलाई कथिन चीवर दिलाउने प्रकृया सर्बप्रथम भिक्षु संघ उपयुक्त सिमामा जम्मा भएर प्रश्नउत्तर यसरी शुरुहुन्छ ।
भन्ते संघ, संघलाई उपयुक्त कथिन चीवर प्राप्त भएको छ । यो चीवर कसलाई दिंदा उपयुक्त होला ?
त्यसलाई दिउँ जस्को चीवर फाटेको छ ।
धेरैको चीवर फाटेको छ । कसैको फाटेको छैन ।
त्यसो भए सबैभन्दा जेष्ठ भन्तेलाई दिउँ । उहाँ महाथेरलाई दिउँ ।
के उहाँ यो कपडालाई चीवरबनाउन सक्षम हुनुहुन्छ त ?
हो भन्ते, उहाँ थेरलाई भिक्षुहरुले सघाउनेछन् ।
के महाथेरमा माथि भनिएका आठ गुणहरु छन् त ?
छन् भन्ते ।
साधु । साधु । साधु । अनुमोदन भएपछि संघले एक बर्गीलाई चीवर दिइन्छ । चीवर दिई सकेपछि कथिन कम्मवाचा संघले पढेर कथिन चीवर दानलाई सफल, अर्थपूर्ण, महान आनिसंश युतm बनाईन्छ ।

कथिनको महत्व तथा आनिसंश फल
बिशेष रुपमा नै अश्विन पूर्णिमा देखि लिएर कार्तिक पूर्णिमासम्म मात्र दान गर्न पाइने कथिन त्यसमा पनि तीन महिनाको बर्षाबास बसेको भिक्षुलाई मात्र दान गर्न पाइनुको महत्व ठूलो रहेको पाइन्छ ।
कथिनन्ति पञ्चनिसंसे अत्तोकरणा समत्थाय चिरन्ती कथिनं ।
तीन महिनाको बर्षाबास बसेको भिक्षुहरुलाई कथिन चीवर विहारमा दान गर्न सकेमा भिक्षुहरुमा पाँच प्रकारको फल आनिसंसहरु स्थीर भएर प्राप्त हुन्छ । त्यसैलाई नै कथिन भनिन्छ ।
जो भिक्षुहरुले बर्षावास पुरागरी कथिन चीवर प्राप्त भएर विनय कम्मवाचामा सामेल भई भिक्षुसंघले कम्मवाचा उच्चारण गरीसकेपछि कथीन चीवर प्राप्त गर्ने भिक्षुहरुले यी पाँच प्रकारको आनिसंस फलहरुस्थीर भएर प्राप्त हुन्छ ।
१. अनमन्तचार ः आमन्त्रण नगरीकन गाउँघरमा जानसक्छ । आफ्नो नातेदार वा चिनेको गृहस्थीको घरमा दिउसोको
भोजन निमन्त्रण भएता पनि सो समय भन्दा अगाडि जान सकिनेछ सानो नास्तापानी, चिया,कफि इत्यादिको लागि
अर्को भन्तेको अनुमति आवश्यक हुँदैन ।
२. असमादानचार ः त्रिचीवर अधिस्ठान नगरीकन गाउँघरमा जान सक्छ । अथवा तिनवटै चीवर नबोकेर एक ठाउँबाट
अर्को ठाउँमा जान सक्छ ।
३. गणभोजन ः सामुहिक भोजनमा सहभागी हुन सकिनेछ ।
४. यावदत्थ चीवर ः दान प्राप्त चीवरहरु जति भएतापनि अधिष्ठान नगरीकन आफ्नो कोठामा पाँच महिनासम्म राख्न
सकिन्छ । अरु बेलाको चीवर दश दिन भन्दा बढि राख्न पाईदैन ।
५. यो च तत्थ चीवरुपाद ः सांघिक चीवर दान गर्दा कथिन दान लिएको भिक्षुहरुले मात्र पाउन सक्छ । अथवा आवसिय
भिक्षुहरुको आफुले बर्षावास बिताएको विहारमा सांघिक गरेको चीवरमा प्रथम अधिकार हुनेछ ।
पाँच वटा सुविधाहरुको कार्यन्वयन ५ महिनापछि स्वतः रद्द हुन्छ ।

गृहस्थ जसले कथिन दान दिनुहुन्छ । उहाँहरुलाई प्राप्त हुने फल आनिसंश
१.कुनै यात्र गर्दा कुनै प्रकारको भय, अन्तराय, बाधा, अवरोध हुने छैन ।
२. आगो पानी राजा चोर अज्ञानी सन्तान कसैले पनि सम्पत्ति नास गर्न सक्नेछैन् ।
३. आफ्नो कार्य, अफिस, खेतीपाती, ब्यापारमा कुनै समस्या जटिलता विना नै गर्न सक्नेछन् ।
४. खाना प्रसस्त हुनेछ, खाएको चीजबाट कुनै खतरा हुनेछैन ।
५. श्री सम्पत्ति सधै सुरक्षित हुनेछ ।
६. लुगा फाटाहरु प्रसस्त प्राप्त हुनेछन । साथै धेरै सम्पत्तिको मालिक हुनेछन ।
नागित थेरले भन्नु भएको थियो पूर्व जन्ममा कथिन चीवरदान दिएको आनुभावले नरकमा कहिलै जानुपरेन अनगिन्ती पटक चक्रवर्ती राजा भएर निर्वाणसम्म पुग्नको लागि सो दानको आनुभाव मुख्यकारण बन्यो । सुमेरु पर्बत हिमालय पर्बतलाई ढाक्ने कपडा दान दिनुभन्दा पनि कथिन चीवर दान दिनुको पुण्य कैयौं गुणा धेरै छ भनिएको छ ।

कथिन दान एउटा धार्मिक उत्सब हो । जसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरुलाई एक ठाउँमा जम्माहुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । धेरै टाढा टाढाबाट भिक्षुहरु, गुरुआमाहरु, उपासक, उपासिकाहरु एक ठाउँमा जम्मा हुनेहुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कथिन उत्सब सासनकोलागि ठूलो शक्ति, कोशेढुङगा सावित भएको छ । यो उत्सबको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षाबास सम्पन्नता माथि यो कथिन चीवरदान अडिएको छ । बर्षाबास सम्पन्नता — जमिन, कथिनदान —रुख,विरुवाजमिन नै भएन भने रुख कसरी अडिन्छ ।

बर्षाबास सम्पन्न, शील, समाधि, प्रज्ञामा प्रगुणता—बर्षायाम—किसानलाई कति महत्वपूर्ण छ । भिक्षु भिक्षुणीहरुको लागि उपासक उपासिकाहरुको लागि दान, शिल, भावना र सील, समाधि, प्रज्ञाको बर्षायाम हो । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरुको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण छ । किसानहरुले पहिलो अनाज भित्राएको बेला उत्सव मनाउँछ त्यस्तै हामीले शील, समाधि, प्रज्ञा र दान, शील, भावना भित्राएको अर्थात निर्वाण भित्राएको, निर्वाणसँग नजिक भएको उत्सबको रुपमा लिनुपर्दछ । त्यो हिसाबले कथिन उत्सवमहत्वपूर्ण, गहकिलो, दरिलो, भरिलो र रित पुर्याउन गाह्रो, कथिन चीवर दान गर्न सजिलो नभएको कठीन, गाह्रो, साह्रो रहेको छ । निर्वाणसँग नजिक हुनु गाह्रो छ । शील समाधी प्रज्ञा र दान शील भावना उब्जाउन गाह्रो छ । यो गाह्रो चिज भित्राएको उत्सब भएकोले कथिन उत्सब हुन गाह्रो भएको मानिन्छ ।

भवतु सब्ब मंगलम् – सबैको मंगल् होस् ।

स्रोतः
सम्यक शिक्षा — भिक्षु सम्यकसम्बोधि प्राणपुत्र (म्याग्दी बेनी)
सम्यक सम्बुद्ध — भिक्षु सम्यकसम्बोधि प्राणपुत्र (म्याग्दी बेनी)
नोट — भिक्षु सागरधम्म (लुम्बिनी)

Share

Related posts

Leave a Comment