बौद्ध धर्मावलम्वीले अत्यन्तै आदर र श्रद्धापूर्वक गर्ने कथिन चिवर दान काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा सम्पन्न भएको छ । अत्यन्तै नियमपूर्वक ३ महिनाको वर्षावास सम्पन्न गरेका भिक्षुहहरुलाई उपासक तथा उपासिकाको तर्फबाट श्रद्धापूर्वक कथिन चिवर दान गर्ने परम्परा रहेको छ ।
चारुमती बुद्ध विहारमा पनि हरेक वर्ष कथिन चिवर दान कार्यक्रम हुँदै आएको छ । यस वर्षको चिवर दान मंगलवार सम्पन्न भएको छ । कोरोना महामारीका कारण संक्रमण नफैलियोस् भनेर सिमित उपासक तथा उपासिकाको उपस्थितिमा चिवर दान गरिएको थियो ।
चारुमति बुद्ध विहार, चाबहिलका प्रमुख भिक्षु श्रद्धेय तपस्सी धम्म महास्थविरले संघ विनयाकुल तिन महिने अटुट वर्षावास पुरा गर्नु भएको थियो । उहाँले वर्षावास सम्पन्न गरेको क्षणलाई धर्म गौरवको उपलक्ष्य मान्दै विहारका उपासक डा. महेश मान, उहाँकी धर्मपत्नी मोहिनी श्रेष्ठ सहित चेतना श्रेष्ठ , प्रेरणा श्रेष्ठ लगायत सकल परिवारहरुले सामाजिक दूरी कायम गर्दै कथिन चिवर दान कार्यक्रम आयोजना गरेका थिए ।, भिक्षु तपस्सी धम्मको २७ औं बर्षाबास हो ।
पंचशील प्रदान गर्दै भिक्षु भद्दियबाट सुभारम्भ गर्नु भएको कार्यक्रममा भिक्षु तपस्सी धम्मले बुद्ध पूजा र भिक्षु निग्रोधले धर्मदेशना भिक्षु सोभितले पुण्यानुमोदना गर्नु भएको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिका वार्ड नं ७ का वडाध्यक्ष सुद्ध डंगोल बिशेष अतिथिको रुपमा सहभागी हुनु भएको थियो ।
कथिन चिवर दानलाई दानमध्येकै दुर्लभ दान मानिन्छ । बर्षमा एक पटक, एक दिन मात्र दिन मिल्ने र बिनयानुकुल बर्षाबास बस्नु हुने भिक्षुलाई दिइने कथिन चिवर दान श्रीलंका, म्यानमार, थाइल्याण्ड, भियतनाम, कम्बोडियामा पनि उत्साहका साथ गरिन्छ ।




