७ मंसिर, काठमाडौं : बौद्ध धर्मगुरु छोग्याल रिन्पोछेले आर्य अवलोकितेश्वर र अमिताभ बुद्धको विशेष अभिषेक (वा)० प्रदान गर्नुहुने भएको छ । रेपा नेपालको आयोजनामा आगामी मंसिर २४ गते बिहीबार अभिषेक कार्यक्रम आयोजना गरिने भएको हो ।
तिब्बती बौद्ध परम्परामा अवलोकितेश्वरलाई ‘चेन्रेजिग’ भनिन्छ । उहाँलाई सम्पूर्ण प्राणीप्रतिको करुणाको प्रतीक मानिन्छ । बौद्ध धर्मावलम्बीमाझ प्रचलित ‘ॐ मणि पद्मे हूँ’ मन्त्र अवलोकितेश्वरसँग सम्बन्धित छ । त्यस्तै, अमिताभ बुद्धलाई अनन्त प्रकाशका बुद्धका रूपमा श्रद्धा गरिन्छ । उहाँसँग ‘ॐ अमि देवा ह्रीः’ मन्त्र सम्बन्धित छ ।
वज्रयान बौद्ध परम्परामा बुद्ध वा बोधिसत्त्वसँग सम्बन्धित विशेष तान्त्रिक साधना गर्नुअघि योग्य गुरुबाट अभिषेक ग्रहण गर्ने परम्परा छ । अभिषेकलाई सम्बन्धित साधनामा प्रवेश गर्ने आध्यात्मिक अनुमति र आशीर्वादका रूपमा लिइन्छ ।
आयोजक रेपा नेपालका अनुसार अवलोकितेश्वर र अमिताभ बुद्धको अभिषेकलाई जीवनको अन्तिम अवस्था तथा मृत्युपछिका धार्मिक संस्कारका दृष्टिले पनि विशेष महत्त्व दिइन्छ । विशेषगरी दिवङ्गत व्यक्तिको सद्गतिको कामनासहित गरिने अर्घुम तथा गेवा जस्ता धार्मिक अनुष्ठानसँग सम्बन्धित आध्यात्मिक अभ्यासमा यी बुद्ध र बोधिसत्त्वको साधनाको महत्त्व रहेको मानिन्छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक श्रद्धालु तथा साधकहरूले समय, स्थान र सहभागितासम्बन्धी थप जानकारीका लागि रेपा नेपालमा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।


