बौद्ध दर्शनको त्याग र करुणाको सन्देश बोकेको नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदै

७ मंसिर, बनेपा: राजकुमार महासत्त्वले भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको जीवन रक्षाका लागि आफ्नो शरीर अर्पण गरेको ऐतिहासिक तथा धार्मिक किंवदन्तिसँग जोडिएको नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित प्रसिद्ध बौद्ध तीर्थस्थलमा लाग्ने यस जात्रामा हजारौँ श्रद्धालु तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ ।

कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन दिवङ्गत आफन्त तथा पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिने परम्परा छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला लाग्नुका साथै विशेष पूजाआजा र धार्मिक अनुष्ठान सञ्चालन हुनेछन् ।

बौद्ध धर्मग्रन्थ तथा स्थानीय जनविश्वासमा आधारित किंवदन्तीअनुसार पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्त्व एकपटक आफ्ना दाजुहरूसँग वनभ्रमणमा गएका थिए । सोही क्रममा गन्धमान पर्वतको जङ्गलमा भोक र कमजोरीले छटपटाइरहेकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखेपछि उनीहरूको पीडा सहन नसकी महासत्त्वले आफ्नो शरीर अर्पण गर्ने निर्णय गरेका थिए । आफ्नो शरीर दिएर बघिनी तथा डमरुको प्राण बचाएको विश्वास गरिन्छ ।

महासत्त्वको यही अतुलनीय त्याग, दया र करुणाको स्मरणमा उक्त स्थानमा स्तूप निर्माण गरिएको धार्मिक किंवदन्ती छ । यही घटनासँग सम्बन्धित भएर स्थानको नाम नमोबुद्ध रहन गएको मानिन्छ । बौद्ध दर्शनमा परोपकार, जीवप्रति करुणा र परहितका लागि गरिने त्यागको महत्वपूर्ण उदाहरणका रूपमा महासत्त्वको कथा लिने गरिन्छ । यसैले नमोबुद्ध जात्रा धार्मिक अनुष्ठानमा मात्र सीमित नभई बौद्ध दर्शन र मानवीय करुणाको सन्देश प्रवाह गर्ने पर्वका रूपमा समेत परिचित छ ।

यस वर्ष जात्रा तथा मेलामा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले बताएका छन् । उनका अनुसार दर्शनार्थीको सहज आवागमन, यातायात व्यवस्थापन, सरसफाइ र सुरक्षा व्यवस्थाका लागि नगरपालिका, गुठी तथा स्थानीय सुरक्षा निकायले आवश्यक तयारी गरेका छन् । काभ्रेपलाञ्चोकसहित काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक नमोबुद्ध पुग्ने अपेक्षा गरिएको छ ।

Share

Related posts

Leave a Comment