बुद्धले पहिलो धर्मदेशना दिएको सारनाथले पायो विश्व सम्पदाको मान्यता

७ मंसिर, काठमाडौं : भारतको उत्तर प्रदेशस्थित ऐतिहासिक बौद्ध तीर्थस्थल सारनाथ युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ । दक्षिण कोरियाको बुसानमा २०२६ जुलाई २५ मा सम्पन्न विश्व सम्पदा समितिको ४८औँ बैठकले सारनाथलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको हो । यससँगै भारतको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको सङ्ख्या ४५ पुगेको छ ।

गौतम बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि सारनाथमा आफ्ना पाँच पूर्वसहयात्रीलाई पहिलोपटक धर्मदेशना दिएका थिए । यही घटनालाई बौद्ध परम्परामा धर्मचक्र प्रवर्तन भनिन्छ । यस घटनाबाट बुद्धको शिक्षाको औपचारिक प्रचारप्रसार सुरु भएको र बौद्ध सङ्घको स्थापना भएको मानिन्छ । त्यसैले सारनाथलाई विश्वभरका बौद्ध धर्मावलम्बीका लागि चार प्रमुख तीर्थस्थलमध्ये एक मानिन्छ ।

प्राचीन समयमा ऋषिपतन, इसिपतन र मृगदावका नामले समेत चिनिने सारनाथमा विभिन्न ऐतिहासिक कालखण्डमा स्तूप, विहार, मन्दिर तथा अन्य धार्मिक संरचना निर्माण भएका थिए । मौर्य, कुषाण र गुप्तकालमा यो क्षेत्र बौद्ध अध्ययन, दर्शन र साधनाको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भएको थियो । यहाँका पुरातात्त्विक अवशेषले बौद्ध धर्मको ऐतिहासिक विकास र प्राचीन भारतीय सभ्यताको महत्वपूर्ण पक्ष उजागर गर्छन् ।

युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको सारनाथ सम्पदामा चौखंडी स्तूप तथा सारनाथका पुरातात्त्विक अवशेष समेटिएका छन् । यसअन्तर्गत धामेक स्तूप, धर्मराजिका स्तूप, मूलगन्धकुटी विहार र अशोक स्तम्भका अवशेषलगायत महत्वपूर्ण संरचना रहेका छन् । भारतको पुरातत्त्व सर्वेक्षण विभागले लामो समयदेखि यस क्षेत्रको उत्खनन, संरक्षण र व्यवस्थापन गर्दै आएको छ । यहाँबाट प्राप्त अशोक स्तम्भको सिंहशीर्ष भारतको राष्ट्रिय प्रतीकका रूपमा समेत परिचित छ ।

सारनाथलाई विश्व सम्पदा सूचीमा समावेश गरिएसँगै यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यसले भारतको बौद्ध सम्पदा संरक्षण, अन्तर्राष्ट्रिय धार्मिक पर्यटन र बौद्ध तीर्थयात्राको प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै नेपालसहित श्रीलङ्का, थाइल्यान्ड, जापान, म्यानमार, भियतनाम र अन्य बौद्ध राष्ट्रका तीर्थयात्रीका लागि सारनाथको महत्व अझ विस्तार हुने विश्वास गरिएको छ ।

Share

Related posts

Leave a Comment