२७ कार्तिक: भारतको पश्चिम बङ्गालस्थित जयगाउँमा बौद्ध धर्मगुरु अविकृता वज्र रिन्पोछेलाई ४४औँ शाक्य त्रिजिनका रूपमा औपचारिक गद्दीआरोहण गराइएको छ। तिब्बती बौद्ध धर्मको महत्वपूर्ण परम्परामध्ये एक शाक्य सम्प्रदायका लागि यसलाई ऐतिहासिक धार्मिक घटनाका रूपमा हेरिएको छ। गद्दीआरोहण समारोहमा विभिन्न बौद्ध धर्मगुरु, भिक्षु, लामा, धार्मिक विद्वान् तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।
अविकृता वज्र रिन्पोछेको गद्दीआरोहण शाक्य फुन्छोक फोड्राङ परम्पराका लागि विशेष महत्वको मानिएको छ। उहाँ यस परम्पराबाट निर्वासनमा शाक्य त्रिजिनका रूपमा औपचारिक गद्दीआरोहण हुने पहिलो धर्मगुरु भएको बताइएको छ। यस घटनाले तिब्बती बौद्ध धर्मको परम्परागत धार्मिक नेतृत्व, गुरु–शिष्य सम्बन्ध र आध्यात्मिक उत्तराधिकारको निरन्तरतासँग जोडिएको नयाँ अध्याय थपेको छ।
शाक्य त्रिजिन तिब्बती बौद्ध धर्मको शाक्य सम्प्रदायका सर्वोच्च आध्यात्मिक नेतृत्वसँग सम्बन्धित पद हो। शाक्य परम्पराको इतिहास करिब ११औँ शताब्दीदेखि सुरु भएको मानिन्छ। यस सम्प्रदायले बौद्ध दर्शन, तान्त्रिक साधना, लाम्द्रे शिक्षा तथा ग्रन्थ अध्ययनलाई विशेष महत्व दिँदै आएको छ। विशेषगरी लाम्द्रे अर्थात् ुमार्ग र फलु शिक्षालाई शाक्य परम्पराको विशिष्ट आध्यात्मिक सम्पदाका रूपमा लिइन्छ।
अविकृता वज्र रिन्पोछेको गद्दीआरोहणले विश्वभर छरिएर रहेका शाक्य बौद्ध समुदायलाई थप एकताबद्ध बनाउन तथा नयाँ पुस्तामा बौद्ध दर्शन, ध्यान र आध्यात्मिक अभ्यासको संरक्षण एवं प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस घटनाले निर्वासनमा रहेका तिब्बती बौद्ध धार्मिक संस्थाहरूले आफ्नो मौलिक परम्परा र नेतृत्वलाई निरन्तरता दिँदै आएको सन्देशसमेत दिएको छ।

