२७ कार्तिक, काठमाडौं: काठमाडौंको नागार्जुनस्थित ह्वाइट गुम्बामा विश्व शान्ति, मानव कल्याण र दिवंगत आत्माको चिरशान्तिको कामनासहित दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिएको छ । ११औँ वार्षिक ड्रुक्पा काउन्सिलमा सहभागी विभिन्न देशका बौद्ध धर्मगुरु, ‘कुङ्फु नन’का रूपमा परिचित ड्रुक्पा भिक्षुणी तथा अन्य सहभागीहरूले एकसाथ दीप प्रज्वलन गर्दै शान्तिको सन्देश प्रवाह गरेका हुन् ।
नोभेम्बर १३ देखि १७ सम्म पाँच दिन सञ्चालन हुने सम्मेलनमा भियतनाम, मलेसिया, सिंगापुर, ताइवान, इन्डोनेसिया, हङकङलगायत १० देशका बौद्ध धर्मगुरु तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनले बौद्ध दर्शन, आध्यात्मिक अभ्यास, धार्मिक एकता र विश्व शान्तिको प्रवर्द्धनमा जोड दिएको छ ।
दीप प्रज्वलन तथा प्रार्थनाका क्रममा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । विशेषगरी रसुवा र नुवाकोटमा हालै आएको बाढीपहिरोका कारण मृत्यु भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि सामूहिक प्रार्थना गरिएको आयोजकले जनाएको छ ।
बौद्ध परम्परामा दीप प्रज्वलनलाई अज्ञानताको अन्धकार हटाएर ज्ञान, करुणा र शान्तिको प्रकाश फैलाउने प्रतीकका रूपमा लिइन्छ । विभिन्न देशका बौद्ध गुरु तथा भिक्षुणीहरूको सामूहिक सहभागितामा गरिएको यस कार्यक्रमले धार्मिक सहिष्णुता, अन्तर्राष्ट्रिय सद्भाव र मानवीय एकताको सन्देश दिएको छ । पाँच दिनसम्म चल्ने काउन्सिलमा विभिन्न बौद्ध गतिविधि तथा आध्यात्मिक कार्यक्रम सञ्चालन हुनेछन् ।

