काठमाडौं। बौद्धस्थित का–ङिङ शेडुप लिङ सेतो गुम्बामा श्रद्धेय छोकी निमा रिन्पोछेले ‘बार–साम–डोल–सुम’ अन्तर्गत तीन अभिषेक प्रदान गर्नुहुने भएको छ। कार्यक्रम २०८३ असोज २४ गते शनिबार अर्थात् १० अक्टोबर २०२६, दिउँसो १ बजे सुरु हुनेछ।
गुम्बाले जारी गरेको सूचनाअनुसार, संघको लामो समयदेखिको अनुरोध स्वीकार गर्दै रिन्पोछेले गृहस्थ धर्मावलम्बी तथा साधकहरूलाई अभिषेक प्रदान गर्न लाग्नुभएको हो।
यीमध्ये ‘बार्छे लाम्सेल’ (བར་ཆད་ལམ་སེལ།) को अर्थ ‘मार्गका बाधा–विघ्न हटाउने’ र ‘साम्पा ल्हुन्ड्रुप’ (བསམ་པ་ལྷུན་གྲུབ།) को अर्थ ‘मनोकामना सहजै सिद्ध हुने’ हो। दुवै गुरु पद्मसम्भवसँग सम्बन्धित छन्। यी प्रार्थनामा साधनाका बाधा हटून् र शुभ आकाङ्क्षा पूरा होऊन् भन्ने भाव व्यक्त गरिएको छ।
त्यस्तै, ‘डोल्मा’ (སྒྲོལ་མ།) आर्य ताराको भोट नाम हो। यसको अर्थ ‘तारिणी’ अर्थात् दुःखबाट तार्ने भन्ने हुन्छ। यसरी ‘बार–साम–डोल–सुम’ नामले यी तीनसँग सम्बन्धित अभिषेकलाई जनाउँछ।
वज्रयान बौद्ध परम्परामा अभिषेकलाई गुरुबाट विशेष साधनामा प्रवेश गराउने र त्यसको अभ्यास गर्ने अधिकार प्रदान गर्ने धार्मिक विधिका रूपमा लिइन्छ। अभिषेकपछि सम्बन्धित पाठको आगम तथा साधनाको विधि सिकेर अभ्यास गर्ने परम्परा छ। त्यसैले यसलाई साधकको आध्यात्मिक अभ्याससँग जोडिएको महत्त्वपूर्ण चरण मानिन्छ।
रिन्पोछे काग्यु र ङिङमा परम्पराका गुरु तथा ध्यान–आचार्य हुनुहुन्छ। तुल्कु उर्ग्येन रिन्पोछेका ज्येष्ठ सुपुत्र उहाँलाई सन् १९७६ मा सोह्रौँ कर्मापाले यस गुम्बाको प्रमुखका रूपमा प्रतिष्ठापित गर्नुभएको थियो। त्यसयता यही गुम्बा उहाँका धर्मशिक्षा तथा साधनासम्बन्धी गतिविधिको मुख्य केन्द्र रहँदै आएको छ।
गुम्बाले गृहस्थ समुदायलाई धर्मको अध्ययन र अभ्यासमा सहभागी गराउन विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत गर्मीयाममा आधारभूत बौद्ध शिक्षा र सम्भोटा लिपिको अध्ययन तथा जाडोयाममा ध्यानसाधनाका कार्यक्रम सञ्चालन हुने गरेका छन्। यी कार्यक्रम विशेषगरी हिमाली बौद्ध समुदायका गृहस्थ साधकहरूलाई लक्षित छन्।


