काठमाडौँ — परमपूज्य स्यार खेन्टुल जाम्फेल लोडोले फर्पिङस्थित गुरु पद्मसम्भव अर्थात् गुरु रिन्पोछेसँग गहिरो सम्बन्ध रहेको पवित्र असुरा गुफामा गुरु रिन्पोछेको अभिषेक अर्थात् वाङ प्रदान गर्नुभएको छ। रिन्पोछेले गुरु रिन्पोछेको पवित्र तीर्थस्थलमा गुरु रिन्पोछेको अभिषेक प्रदान गर्नुभएको आफ्नो यस जीवनमा यो पहिलो अवसर भएको उहाँको पक्षबाट सार्वजनिक विवरणमा उल्लेख गरिएको छ।
असोज १८ गते आयोजित उक्त अभिषेक विशेषगरी गुरु रिन्पोछेको साधना र सिद्धिसँग प्रत्यक्ष सम्बन्धित स्थलमै सम्पन्न भएकाले महत्वपूर्ण मानिएको छ। असुरा गुफालाई याङ्लेशोको माथिल्लो गुफाका रूपमा पनि चिनिन्छ। बौद्ध परम्पराअनुसार गुरु रिन्पोछेले यहाँ याङ्दाक हेरुका र वज्रकीलयको साधनालाई संयुक्त रूपमा अभ्यास गरी महामुद्रा विद्याधरको सिद्धि प्राप्त गर्नुभएको मानिन्छ।
यस अवसरमा खेन्टुल रिन्पोछेले उत्तरी निधि परम्परा—जाङतेर (བྱང་གཏེར་) अन्तर्गतको गुरु रिन्पोछे अभिषेक प्रदान गर्नुभएको बताइएको छ। कार्यक्रममा सहभागी साधकहरूका लागि यो केवल एउटा अभिषेक मात्र नभई रिन्पोछेको आफ्नै धर्मयात्राको आरम्भ र वर्तमान साधना–सेवाबीचको विशेष मिलनका रूपमा समेत प्रस्तुत गरिएको छ।
स्यार खेन्टुल जाम्फेल लोडो रिन्पोछे वर्तमान समयमा विशेषतः जोनाङ परम्पराको कालचक्र तथा शम्भल शिक्षाका प्रमुख अध्येता र गुरुका रूपमा परिचित हुनुहुन्छ। उहाँले विभिन्न बौद्ध परम्पराका २५ भन्दा बढी गुरुहरूसँग अध्ययन तथा साधना गर्नुभएको र असाम्प्रदायिक रिमे दृष्टिकोणका लागि परिचित हुनुहुन्छ। उहाँको प्रमुख शिक्षण कार्य भने जोनाङ–शम्भल परम्पराको कालचक्र साधनाको संरक्षण र प्रसारमा केन्द्रित छ।
यद्यपि वर्तमान समयमा उहाँको नाम कालचक्रसँग बढी जोडिएको छ, उहाँको प्रारम्भिक धर्मजीवन भने ङिँङ्मा परम्परासँग निकै गहिरो रूपमा सम्बन्धित रहेको देखिन्छ। उहाँका पिता स्यार थुब्तेन ङिँङ्मा तान्त्रिक साधक तथा कुशल थाङ्का चित्रकार हुनुहुन्थ्यो। आमाले पनि सानैदेखि गम्भीर रूपमा धर्म अभ्यास गर्नुभएको र उहाँका गुरु गेचे खेन्टुल रिन्पोछे रहेको आधिकारिक जीवनीमा उल्लेख छ।
रिन्पोछेको प्रारम्भिक मठीय प्रशिक्षण पनि ङिङ्मा अभ्यासबाट अघि बढेको थियो। उहाँको विस्तृत जीवनीमा पाल्युल परम्परामा विशेष रूपमा प्रचलित महान् तेर्तोन नाम्छो मिङ्युर दोर्जेको साधना चक्रअनुसार उहाँले ङोन्डो तथा जोग्छेनसँग सम्बन्धित अभ्यासहरू गहन रूपमा सम्पन्न गरेको उल्लेख छ। पछि उहाँ जोनाङ परम्परामा प्रवेश गरी कालचक्रको तीन वर्षे साधना तथा षड्वज्रयोग लगायतका अभ्यासमा समर्पित हुनुभयो।
यस अभिषेकसँग रिन्पोछेको बाल्यकालको एउटा विशेष प्रसङ्ग पनि जोडिएको छ। उहाँको पक्षबाट सार्वजनिक विवरणअनुसार, घुमन्ते परिवारमा हुर्किरहनुभएको बेला एक जना साधक लामा उनीहरूको क्षेत्रमा आउनुभएको थियो। ती लामाले बालक खेन्टुल रिन्पोछेलाई गुरु रिन्पोछेको टोपी लगाएको स्वरूपमा चित्रित गर्दै भविष्यमा उहाँ स्वयंले गुरु रिन्पोछेको अभिषेक प्रदान गर्ने भविष्यवाणी गर्नुभएको बताइएको छ।
दशकौँपछि गुरु रिन्पोछे स्वयंले साधना गरी महामुद्रा विद्याधरको सिद्धि प्राप्त गर्नुभएको मानिने असुरा गुफामै रिन्पोछेबाट पहिलोपटक उक्त अभिषेक प्रदान भएपछि सो बाल्यकालीन भविष्यवाणी विशेष रूपमा स्मरण गरिएको छ।
रिन्पोछेलाई उहाँका गुरुहरूले गेचे खेन्टुल जिग्मे जाङक्षुब ग्याछोको पुनर्जन्मका रूपमा पहिचान गरेका थिए। उहाँको अवतार-परम्परा महान् कालचक्र साधक ङवाङ क्षोजिन ग्याछोसँग जोडिएको आधिकारिक जीवनीमा उल्लेख छ। सन् १९९७ मा उहाँका गुरु लामा लोब्साङ ठिन्लेले सार्वजनिक रूपमा उहाँको पुनर्जन्मसम्बन्धी पहिचान र ‘रिमे छोर्जे’ उपाधि घोषणा गर्नुभएको विवरण पनि पाइन्छ।
यसरी फर्पिङको असुरा गुफामा सम्पन्न गुरु रिन्पोछे अभिषेकलाई रिन्पोछेको ङिँङ्मा परम्परासँग जोडिएको प्रारम्भिक धर्मयात्रा, हालको जोनाङ–कालचक्र साधना परम्परा र बाल्यकालदेखि उहाँसँग जोडिएको भविष्यवाणी एकै ठाउँमा आइपुगेको विशेष अवसरका रूपमा हेरिएको छ।


