बुद्धले वाल्यकाल बिताएको तिलौराकोट

लुम्बिनीको नजिकै पर्ने तिलौराकोट कपिलवस्तु जिल्लामा अवस्थित छ । यो क्षेत्र गौतम बुद्धको बाल्यकालको ऐतिहासिक थलोका रूपमा चिनिन्छ । पुरातात्विक तथ्यहरूले यो ठाउँलाई प्राचीन शाक्य राज्यको राजधानी भएको पुष्टि गरेका छन्, जहाँ बुद्धले आफ्नो बाल्यकाल राजकुमार सिद्धार्थका रूपमा बिताएका थिए । तिलौराकोट त्यस्तो स्थान हो जुन सिद्धार्थ गौतमको शिक्षालय र खेल मैदान पनि थियो । तिलौराकोटमा हुँदै उनले वैभव र विलासिताको जीवनमात्रै बिताएनन् यहींबाट उनले संसारको दुःख बुझ्ने मार्गतर्फ कदम चाले ।

तिलौराकोटमा विभिन्न महत्वपूर्ण संरचनाहरू भेटिएका छन्, जसमा राजदरबारको भग्नावशेष, प्राचीन सहरका पर्खालहरू, मठहरू र पानीको पोखरीहरू समावेश छन् । यसले बुद्धको जीवन र शिक्षाको प्रारम्भिक चरणलाई अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ । यो ठाउँ युनेस्कोको विश्व सम्पदा सूचीमा पर्ने लुम्बिनी क्षेत्रको प्रमुख भाग हो । इतिहासकारहरूका अनुसार तिलौराकोट तत्कालीन समयको सम्पन्न सहर थियो, जहाँ व्यापार, संस्कार र शिक्षा विकास उत्कर्षमा थियो । यहाँबाट प्राप्त २,५०० वर्ष पुराना धातुका सिक्का, माटाका भाँडाकुँडा र अन्य पुरातात्विवक अवशेषहरूले प्राचीन सभ्यताको झलक दिन्छन् ।

हाल तिलौराकोट धार्मिक पर्यटनको मुख्य केन्द्र बनेको छ। नेपाल सरकार, युनेस्को, र अन्य संस्थाहरूको प्रयासमा यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुँदै आएको छ । बौद्ध धर्मावलम्बीहरूका लागि तिलौराकोट मात्र एक पुरातात्विक स्थल होइन, ध्यान र आत्म–चिन्तनको स्रोत पनि हो ।

तर, विकासको अभाव र पुरातात्विक सम्पदाको उचित संरक्षण नहुनाले यो ऐतिहासिक स्थलले अपेक्षित पहिचान पाउन सकेको छैन । तिलौराकोटको महत्त्वलाई विश्वसामु पु¥याउन प्रचार–प्रसार र पर्यटन पूर्वाधार निर्माणमा अझ ध्यान दिन आवश्यक छ । तिलौराकोट बुद्धका प्रारम्भिक जीवनको प्रत्यक्ष झलक दिने ऐतिहासिक सम्पत्ति हो । यसको अध्ययन र संरक्षणले बौद्ध दर्शन र इतिहासको थप गहिरो ज्ञान प्राप्त गर्न सहयोग पु¥याउनेछ ।

Share

Related posts