मायादेवी मन्दिर पूनःनिर्माण सुरु

बेवास्ताको सिकार बनेको लुम्बिनीमा रहेको मायादेवी मन्दिर पूननिर्माणमा सरोकारवाला निकाय जुर्मुराएका छन् । भगवान बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व छ । मन्दिर दर्शन गर्नका लागि मात्रै ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक लुम्बिनी जाने गरेका छन् । मन्दिरमा बुद्ध जन्म स्मारक शिला, इशापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावशेषहरु, मायादेवीको मूर्तिलगायत महत्वपूर्ण प्राचीन भग्नावशेष संरक्षण गरेर राखिएको छ ।

यस्तो महत्वका वस्तु रहेको मन्दिरमा लामो समयदेखि पानी चुहिने समस्या थियो । २०६० सालमा करिब ६ करोड लागतमा पुनः निर्माण गरिएको मन्दिर एक वर्ष पछि नै चुहिन थालेको थियो । मन्दिर पुनः निर्माण गर्दा वाटरप्रूफिङ नगरी फलामका पातामाथि दुई तह इँटा राखेर सुर्खी र चुनले ढलान गरिएकाले काम प्रभावकारी नभएको हो । लामो समयदेखि लुम्बिनी विकास कोषले यसलाई बेवास्ता गरे पनि हाल भने मर्मतको कामलाई तीव्रता दिने जनाएको छ ।

पुरातत्व विभागले पनि मन्दिरको परम्परागत शैलीलाई परिवर्तन नगरेर नै मर्मतको काम गर्ने तयारी गरेको छ । यसका लागि विशेषज्ञ टोली बोलाइएको र दीर्घकालीन रुपमा समस्या समाधान गर्ने गरी काम अघि बढाएको हो ।

विगतमा मन्दिरको अवस्था खराब हुँदा समेत बेवास्ता गरिए पनि हाल भने कोषका पदाधिकारी र पुरातत्व विभागका पुरातत्वविद्सहितको टोलीले मायादेवी मन्दिरको निरीक्षण गरिसकेका छन् । यसपटक मन्दिरको मर्मत गर्दा युनेस्को, पुरातत्वविद्सँगै थाइल्याण्डका पुरातत्व क्षेत्रका विशेषज्ञ र इन्जिनियरहरुको पनि प्रत्यक्ष निगरानी रहने कोषले जनाएको छ । यसले अब भने सो ऐतिहासिक मन्दिरको संरक्षण हुने सम्भावना बढेको छ ।

Share

Related posts