अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ सार्वजनिक

अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ। बौद्ध दर्शनका विविध पक्षमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका महर्जनको यो दशौं कृति हो। यस पुस्तकमा बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरिएका ५४ वटा आलेख सङ्गृहीत छन्।

शास्त्रीय पद्धति अनुसार नभएर बौद्ध दर्शनलाई सर्वसुलभ बनाउन र सर्वसाधारण माझ सहज चिन्तनको संस्कृति बसाल्न यो पुस्तक लेखिएको महर्जनले बताए। बौद्ध दर्शनको मूलभूत मान्यताका रूपमा लिइने त्रिलक्षण अन्तर्गतको अनित्य, दुःख र अनात्म, प्रतीत्यसमुत्पाद, मध्यम मार्ग, विभिन्न यान र सम्प्रदायको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ।

यसरी नै बुद्ध र बुद्ध वचन सम्बन्धी चर्चा गर्दै चतुर्ब्रह्मविहार, निर्वाण, पूर्वजन्म र पुनर्जन्मका सम्बन्धमा चर्चा गरिएको छ जुन बौद्ध दर्शनको अध्ययनका लागि आधारभूत ज्ञान मानिन्छ।

यसरी नै हिंसा र अहिंसा, जातिवादको अनौचित्य, लैंगिक विभेद विरुद्धका उपदेशहरू तथा सामाजिक विषमतामाथि पुस्तकमा विश्लेषण गरिएको छ। यसलाई इन्साइट पब्लिकेशनले प्रकाशन गरेको हो।

Share

Related posts