नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका गुम्बाहरुमा ३ महिने बौद्ध प्रशिक्षण शिविर सुरु

 

नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका विभिन्न गुम्बामा ३ महिने बौद्ध धर्म प्रशिक्षण सुरु भएको छ । जसमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा रहेको काग्यु दार्शलिंग गुम्बामा यही पुस ५ गतेदेखि ३ महिने शिविर सुरु भएको हो । ७७ जना स्थानीय विद्यार्थी सहभागि उक्त शिविरमा बौद्ध ज्ञान सम्बन्धी विविध ज्ञानहरु प्रदान गरि राखिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताए ।

बौद्ध ज्ञान दर्शन, बुद्धको जीवनी, गुरु रिन्पोछेको जीवनी तथा मन्त्रको ज्ञान, मेलारेपाको ज्ञान लगायतका विषयको बारेमा शिविरमा सहभागि विद्यार्थीलाई अध्यापन गरिने कार्यक्रम संयोजक काइला लामाले बताए । यो शिविर चैत ५ गते सम्पन्न हुन्छ ।

त्यसैगरी सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाको वडा नं. १ ब्यासीमा अवस्थित टासी सम्फालिंग गुम्बामा पनि ४७ जना विद्यार्थी सहभागि भई बौद्ध धर्मसम्बन्धी ज्ञान लिइरहेका छन् । पुस ९ गतदेखि सुरु भएको शिविर बेलुका ५ बजेदेखि ७ बजेसम्म जारी रहेको कार्यक्रम संयोजक काइला लामाले जानकारी दिए । यहाँको शिविर चैत ९ गते समापन हुँदैछ ।

अहिले भइरहेको शिविरमा खेन्पो छुल्ठ्रिमले सुरुको ३ दिनसम्म कक्षा सञ्चालन गर्ने र त्यसपछि गुम्बाकै लामाहरुले बाँकी कक्षालाई निरन्तरता दिने व्यवस्था मिलाइएको छ ।

थुजिछे छेन्पो छ्याक्थोंग किनलांग गुम्बामा पनि नेपाल बौद्ध संघकै आयोजनामा पुस २१ देखि यस्तै प्रकारको प्रशिक्षण शिविर आयोजना हुँदैछ । भोटेकोसी ५ मार्मिंग स्थित उक्त गुम्बामा ५० जना विद्यार्थी सहभागि हुँदैछन् ।

नेपाल बौद्ध संघले हेलम्बु क्षेत्रका २२ स्थानमा स्थानीय बौद्ध धर्मावलम्वीलाई बौद्ध ज्ञान बाँढ्ने उद्देश्यले ३ महिने बौद्ध ज्ञानसम्बन्धी शिविर गर्ने योजना बनाएको छ ।

 

Share

Related posts

Leave a Comment