बसन्त महर्जन
पाटनमा ‘रातो मत्स्येन्द्रनाथ’को रथजात्रा हुन नसकेको र गर्नैपर्छ भनी अगाडि सरेका स्थानिय जनसमुदायमाथि प्रहरी हस्तक्षेपका कारण भदौ महिनाको दोस्रो र तेस्रो हस्ता तनावपूर्ण रह्यो । रातो मत्स्येन्द्रनाथ भनिएपनि बौद्धहरू यसलाई रक्तावलोकितेश्वर मान्दछन् । अझ जनबोलीमा यो ‘करुणामय’को नामबाट बढी चिनिन्छन् । लोकेश्वरहरू सबैमा महाकारुणाको दृष्टि हुने भएकाले सर्बै ‘करुणामय’ नामबाट सम्बोधन गरिन्छन् भन्ने कुरा काठमाडौं उपत्यकामा नै भएका अन्य लोकेश्वरहरूलाई पनि करुणामय नै भन्ने गरेबाट बुझ्न सकिन्छ । काठमाडौंमा चार करुणामय भनेर बेग्लाबेग्लै लोकेश्वरहरू चिनिन्छन् । तर पाटनको लोकेश्वरलाई रातो मत्स्येन्द्रनाथ र काठमाडौं (जनबहाल) को लोकेश्वरलाई सेतो मत्स्येन्द्रनाथ नाम दिइएको छ । लोकेश्वरको मूर्तिलाई ध्यान दिने हो भने नालाको सृष्टिकान्त लोकेश्वर सेतो वर्णको छ तर उनलाई सेतो मत्स्येन्द्रनाथ भनिँदैन र चोभार (कीर्तिपुर) को आनन्दादि लोकेश्वरको वर्ण रातो छ र रातो मत्स्येन्द्रनाथ भनिँदैन । बरु आनन्दादि लोकेश्वरलाई आदिनाथ भन्ने गरेको पाइन्छ । नामको सम्बन्धमा यो सर्वसाधारणलाई अलमल्याउने खालको छ । राम्रोसँग केलाउन नसक्दा वर्तमान नेपाली समाज अलमलिनुका साथै भ्रमित अवस्थामा रहेको पाइन्छ ।
बौद्ध धर्मलाई हिनयान र महायान गरी दुई यानमा विभक्त गरेर अध्ययन गर्न सकिन्छ । क्लेशावरणलाई हटाई अर्हत् हुने र प्रत्येक बुद्ध बन्ने दुई वटालाई नै प्रमुख लक्ष्य राख्ने काम हिनयानी बौद्ध धर्ममा रहेको हुन्छ । यसलाई व्यक्तिगत मुक्ति पनि भन्न सकिन्छ । व्यक्तिगत मुक्ति मात्रै भएर के गर्नु अरुको मुक्तिमा पनि सहायक हुनुपर्छ भन्ने आदर्श राखी बोधिचर्या गरी बोधिसत्व हुनेहरूको मार्गलाई बोधिसत्वयान भनिन्छ । बोधिसत्वयानले तुलनात्मक रुपमा ठूलो उद्देश्य राखेको र लामो तथा कठोर साधना गर्नु पर्ने भएकाले यसलाई ‘महायान’ पनि भनिएको हो । हिनयानअन्तर्गत श्रावकयानी बौद्ध धर्ममा बोधिसत्वका सम्बन्धमा थोरै मात्र चर्चा पाइन्छ भने महायानी बौद्ध धर्म बोधिसत्वहरूको वर्णन विस्तृत रुपमा रहेको पाइन्छ । यसमा अनेकौं बोधिसत्वहरूको नाम उल्लेख भएको पाइन्छन् । अर्हत् हुने हैसियत राखेर पनि सो उपलब्धीलाई त्याग गरी बरु फेरि फेरि जन्म लिएरै भएपनि समष्ट प्राणीप्रति असीम करुणा राखी पारमीहरू पूरा गर्दै रहन्छन् । पारमीहरू पूरा गर्नुको अर्थ हो, भविष्यमा सम्यकसम्बुद्ध हुने । सबै सम्यकसम्बुद्धहरूले यही मार्ग अवलम्बन गरेर बुद्धत्व प्राप्त गरेका हुन् । बोधिसत्व यानमा अनेकौं बोधिसत्वहरूको कल्पना गर्ने क्रममा लोकेश्वर वा अवलोकितेश्वरहरूको अवधारणा पनि विकास गरेको पाइन्छ । यसअनुसार लोकमा एक जनामात्रै दुःखी प्राणी रहेसम्म बुद्धत्व प्राप्त नगर्ने र अरुको हितसुखमा दत्तचित्त भएर लागि नै रहने प्रण गर्नेहरू लोकेश्वर वा अवलोकितेश्वर हुन् । यसअनुसार महायानी बौद्ध धर्ममा लोकेश्वरहरूको स्थान उच्च हुन्छ । यी लोकेश्वरहरूको बेग्लाबेग्ले रुपमा श्रद्धा गरी गच्छेअनुसार पूजाअर्चना तथा जात्रा मनाउने गरिन्छ । यसअनुसार काठमाडौंमा बेग्ला बेग्लै चार करुणामयको जात्रा गरिएको भनेर बुझ्न सकिन्छ ।

ऐतिहासिक विवरणअनुसार काठमाडौंमा सबैभन्दा पहिले करुणामयको प्रवेश सातौ शताब्दीमा भारतको कामारुकामाक्षा (आसाम)बाट भएको देखिन्छ । काठमाडौंमा प्रचलित कथाअनुसार सातौं शताब्दीमा राजा नरेन्द्रदेवको शासन कालमा लामो समयसम्म वर्षा भएन । खेतीपाती पनि हुन पाएन । यस अवस्थामा तान्त्रिक बन्धुदत्त, राजा नरेन्द्रदेव र सहायकका रुपमा ललित नामका एक व्यक्ति कामारुकामाक्षामा गई रक्तावलोकितेश्वर (करुणामय)लाई मनाई काठमाडौंमा ल्याए । काठमाडौं उपत्यकामा आइपुगेपछि यी करुणामयलाई कहाँ राख्ने भन्ने विवाद भयो । त्यति बेला राजधानी भक्तपुरमा थियो र करुणामयलाई भक्तपुरमा नै लैजाने मनसुवा राजाको थियो । तान्त्रिक बन्धुदत्त काठमाडौंका थिए र उनको मनसाय काठमाडौंमा नै लैजाने भयो । सहायकको रुपमा लगिएका व्यक्ति ललितले पनि यसमा अत्तो थापेर आफ्नो थलो लतितपुरमा नै रहनु पर्ने माग गरे । लतिपुरमा मानसम्मानका साथ राखेर जात्रा गरुन्जेल करुणामय ललितपुरमा रहने र कथंकदाचित रथयात्रा गर्न नसक्ने अवस्थामा भक्तपुरमा हस्तान्तरण गर्नु पर्ने सहमति भएको भन्ने लोककथन पाइन्छ । यदि यो सम्झौता सही हो भने, भक्तपुरले पनि नसक्ने अवस्थामा काठमाडौंलाई हस्तान्तरण गर्नु पर्ने तथा कालान्तरमा काठमाडौंले पनि रथजात्रा गर्न नसक्ने अवस्थामा पुनः ललितपुरलाई नै फर्काउनु पर्ने सम्झौता भएको थियो कि भनी अनुमान गर्ने ठाउँ छ । यस प्रकार आजभोलि ललितपुरमा रहेका यी करणामयमाथिको हक काठमाडौं, ललितपुर र भक्तपुरसँग बराबर रहेको बुझ्न सकिन्छ । तिनै सहरका बौद्धहरू यी करुणामयप्रति उत्तिकै श्रद्धा राखी पूजा गर्ने तथा रथजात्रामा पनि तिनै सहरका मान्छेहरूको दायित्व निर्दिष्ट गरिएको पाइन्छ ।
काठमाडौं उपत्यकामा यी करुणामयलाई ल्याइएको प्रसङ्गमा गोरखनाथ र मत्स्येन्द्रनाथको नाम पनि जोड्ने गरेको पाइन्छ । त्यसअनुसार मत्स्येन्द्रनाथ गोरखनाथका गुरु हुन् । गोरखनाथ काठमाडौंमा आउँदा उनीप्रति आदरप्रकट नहुँदा रिसाएर सबै नागहरूलाई आसन गरी बसेका थिए र वर्षा हुन पाएन । यस अवस्थामा कामारुकामाक्षाबाट मत्स्येन्द्रलाई यहाँ ल्याइएको थियो र आफ्नो गुरुको आगमणको खबर पाएर दर्शनका लागि उठ्दा नागहरू फुत्किएर भाग्न सक्यो र वर्षा भयो । रक्तावलोकितेश्वर वा मत्स्येन्द्रनाथमध्ये कसलाई ल्याइएको भन्ने प्रश्नलाई समन्वयात्मक दृष्टिकोण अपनाई दुबै एउटै हुन् भनेर सजिल्यैसँग कुरा टार्ने गरेको पाइन्छ तर ऐतिहासिक दृष्टि अपनाएर यस प्रश्नमाथि मनन गर्दा कुराको ¥याङठ्याङ मिल्दैन । बौद्ध इतिहासमा लोकेश्वर वा अवलोकितेश्वरहरूको अवधारणा सातौ शताब्दीभन्दा अगाडि नै देखिन्छ । राजा नरेन्द्रदेवको राज्यकाल सातौं शताब्दी हो । यसलाई अझ ठोस रुपमा भन्नु पर्दा रुक्तावलोकितेश्वरको मतवादलाई राजाको अगुवाईमा काठमाडौं भित्र्याइएको थियो र उक्त मतवादले मान्ने लोकेश्वरको मूर्ति यहाँ ल्याई भव्य रथजात्रा पनि चलाइएको हो । धर्म तथा दर्शनको इतिहासअध्ययन गर्दा यस बेलासम्ममा नाथपन्थी शैव सम्प्रदायको विकास भइसकेकै थिएन । यिनीहरूको विकास एघारौं बाह्रौं शताब्दीतिर मात्रै भएको हो । यसअनुसार दुई कुरालाई समन्वय गरी बनाइएको कथामा खोट देखियो । रक्तावलोकितेश्वरको नामअनुसार उनी रक्त वर्णका हुन् भन्ने बुझियो र मूर्ति पनि रातो नै बनाइयो । तर यसैको आधारमा रातो मत्स्येन्द्रनाथ भन्नु ऐतिहासिक दृष्टिले मिल्दो कुरा होइन ।
गोरखनाथ तथा उनका गुरु भनिएका मत्स्येन्द्रनाथका सम्बन्धमा अध्ययन बेग्लै पाटो हो । काठमाडौं जनबहालस्थित बेग्लै पृष्ठभूमि भएका अमोघपास आर्यावलोकितेश्वरलाई पनि उनै मत्स्येन्द्रनाथसँग जोडेको पाइन्छ र यहाँ उनलाई सेतो मत्स्येन्द्रनाथ भनिएको छ । एकै मत्स्येन्द्रनाथ कसरी सेतो र रातो गरी बेग्लाबेग्लै वर्ण भयो भन्ने प्रश्न उठाउन सकिन्छ । च्वबहाः (चोभार)स्थित आनन्दादि लोकेश्वरलाई पनि आदिनाथ नाम दिइएको पाइन्छ । नाथपन्थीहरूका अनुसार मत्स्येन्द्रनाथ र गोरखनाथका पनि गुरु हुन्, आदिनाथ । तर नाथपन्थीहरूले नाला करुणामय पनि भनिने सृष्टिकान्त लोकेश्वरसँग आफूलाई जोड्ने गरेको पाइँदैन ।
बौद्ध धर्म–दर्शन नै भएपनि लोकेश्वरहरूले बेग्लाबेग्लै मतवादको प्रतिनिधित्व गर्ने र विभिन्न समयमा यी मतवादहरूले काठमाडौं उपत्यकाको बौद्ध समाजमा प्रभाव पारेको मान्न सकिन्छ । लोकेश्वरहरूको यो लोकप्रियताबाट पछि नाथपन्थी शैव सम्प्रदाय लोभिएको र लोकेश्वरमा आफूलाई आत्मसात् गरी समन्वय गराउन सफल भएको पनि बुझ्न सकिन्छ । रक्तावलोकितेश्वर (रातो मत्स्येन्द्रनाथ) र अमोघपास आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) को रथजात्रा हुन्छ भने सृष्टिकान्त लोकेश्वर (नाला) र आनन्दादि लोकेश्वरतर (च्वबहाः) को खटमा राखी जात्रा गरिन्छ । तर सबै करुणामय वा लोकेश्वरहरूको पूजाआजा तथा जात्रा बौद्ध परम्पराअनुसार नै हुँदै आइरहेको पाइन्छ । यस संस्कृतिमा नाथपन्थी शैव सम्प्रदायको थोरै मात्र भूमिका देखिन्छ । वस्तुस्थिति यस्तो भएपनि आजभोलि बौद्ध–हिन्दू दुबैको साझा देवता भन्दै करुणामय वा लोकेश्वरको नामलाई ओझेलमा पारी मत्स्येन्द्रनाथको नामलाई अगाडि ल्याइनु ताज्जुबको कुरा हो । रातो मत्स्येन्द्रनाथ र सेतो मत्स्येन्द्रनाथ भनेर हिजोआज मात्रै व्यवहारमा ल्याइएको नाम हो । एक पात्रलाई अर्को पात्रमा आत्मसात् गर्ने चलन धर्मको इतिहासमा पुरानो नै हो । आत्मसात गराउने यो घटना र प्रवृत्तिमाथि शूक्ष्म दृष्टि दिँदा पनि धार्मिक इतिहासका कतिपय पाटोहरू खुल्ने हुन्छ । तर बौद्ध लेखकहरूबाटै लेखिएका लेख तथा पुस्तकहरूमा यतातिर ध्यान नदिनुलाई कमजोरीकै रुपमा लिनु पर्दछ ।
How does trend of joining NATH come .Even swayambhu has been joined NATH