भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति, नेपालले कोरोना भाइरसका कारण गरिएको लकडाउनले मारमा पर्दै आएका श्रमिक, मजदुर लगायतका विपन्न परिवारलाई सहयोगको अभियान समेत चलाएको छ । यसैक्रममा समितिले बिहिबार काठमाडौँको नारायणटारमा रहेको बोधिसत्व इन एक्सन (बि.आइ.ए.)मा आश्रित शारिरिक अशक्तता भएकाहरुलाई सहयोग गरेको छ । सहयोग प्रदान गर्दै समितिका संयोजक टीका शेर्पाले विपतको घडीमा सामाजिक दायित्व अन्तर्गत सहयोग गरिएको बताए ।
संयोजक शेर्पा सहित तामाङ भाषाको चलचित्रकी अभिनेत्री शुकमाया तामाङ लगायतको समूह बि.आइ.ए.को कार्यालय राहत सामाग्री सहित पुगेको थियो । समितिले करिब ५० जनाको संख्यामा रहेका अशक्तहरुलाई चामल, दाल, नुन, चिनी लगायतका खाद्यान्न प्रदान गरेको छ ।
लामो समय गरिएको लकडाउनका कारण संस्थामा ठूलो संख्यामा रहेकाहरुलाई खाद्यान्न लगायतको अभाव देखिन थालेकाले सहयोगको आवश्यकता भएको बि.आइ.ए.का कार्यक्रम संयोजक गोकर्ण ढुंगानाले बताए ।
छोग्याल रिन्पोछेको नेत्तृत्वमा सञ्चालित यो संस्थामा आश्रितहरुलाई विभिन्न देशमा रहेको रिन्पोछेका अनुयायीहरुको सहयोग रहदै आएको थियो । तर अहिले कोरोना भाइरसका कारण सम्पुर्ण विश्व नै प्रभावित बनेका कारण बाहिरबाट सहयोग आउने सम्भावना एकदमै कम रहेकाले सहयोगको विशेष जरुरत भएको ढुंगानाको भनाई छ ।