गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै भएका कारण संसारभरका बौद्ध धर्मावलम्बीका लागि नेपाल सम्भव भएसम्म एकपटक भ्रमण गर्नै पर्ने देश हो । यसै कारण अहिले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै बौद्ध धर्मावम्वीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सरकारी तथा नीजि तवरबाट विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसैक्रममा काठमाडौँको चावहिलस्थित चारुमती विहारमा पनि बौद्ध पर्यटक भित्र्याउने उद्देश्यले विशेष कार्यक्रम गरिने भएको छ ।
करिब २३ सय वर्ष पुरानो अशोककालिन चैत्य र चारुमती विहारको अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि आगामी माघ २५ र २६ मा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको चारुमती बुद्ध विहारमा प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए ।
चारुमती वुद्ध विहार, चारुमती बुद्धिष्ट मिसन र थाई इण्डो चाइना फ्रेण्डशिप एसोसियसनको संयुक्त आयोजनामा हुने कार्यक्रममा अन्तराष्ट्रिय त्रिपिटक वाचन, अन्तराष्ट्रिय साइकल र्याली, थाई सांस्कृतिक कार्यक्रम लगायत आयोजना गरिदैछ ।
कार्यक्रमको उद्घाटन नेपाल भ्रमण वर्ष २०२० का मूल संयोजक समितिका संयोजक सुरज बैद्यले गर्ने बताइएको छ । कार्यक्रममा आधा दर्जन देशबाट सहभागिता रहने कार्यक्रमका संयोजक तथा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताए । कार्यक्रममा विभिन्न मुलुकका १ सयभन्दा बढि साइकल यात्री चारुमती विश्व शान्ति साइकल र्यालीमा सहभागि हुने छन् । माघ २५ गते हुने साइकल र्याली चावहिलबाट सुरु भएर गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को अशोक स्तुप, सातदोबाटो, लगनखेलको लगन थूर, पूल्चोक थूर, बंगलामुखी, शंखमुल लगायत हुँदै पून चारुमती स्तुप आएर सम्पन्न हुनेछ ।
कार्यक्रमको पहिलो दिन नै विहान ८ बजेदेखि करिब ३०० स्वदेशी तथा विदेशी भिक्षुहरुले अन्तराष्ट्रिय त्रिपिटक पाठ गर्ने कार्यक्रम संयोजक भिक्षु धम्मले बताए । कार्यक्रम संयोजक भिक्षु धम्मका अनुसार २५ गते नै दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा नेपाल थाई सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । माघ २५ गते नै दिउँसो सोही दिन दिउँसो १ बजे देखि बेलुकी ५ बजे सम्म राष्ट्रिय सभा गृहमा नेपाल थाई सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न हुने छ ।
कार्यक्रमको दोस्रो दिन माघ २६ गते मुनी बिहार भक्तपुरमा श्रमणेर प्रवज्या कार्यक्रम रहेको छ । उक्त दिन १०० जना कुलपुत्रहरुलाई भिक्षु बनाउने कार्यक्रम समेत रहेको भिक्षु धम्मले जानकारी दिए ।

