२०७२ सालको भुकम्पले क्षतिग्रस्त बनेको ललितपुरको महाबुद्ध मन्दिर जिर्णोद्वार भइरहेको छ । मन्दिर बाहिरबाट भन्दा पनि भित्राबट पुरै चर्किएको र मुख्य तोरण पूर्णरुपमा क्षतिग्रस्त हुनुका साथै ढुंगाको खम्बा पनि भत्किएको अवस्थामा पुगेको थियो । मन्दिरलाई जिर्णोद्वार गर्ने क्रममा विशेषज्ञहरुको सल्लाह अनुसार फलामको फ्रेमले घेरेर चर्केको ठाउँमा मर्मत गरिएको छ । तोरणको भाग पनि पहिले जस्तै गरी नयाँ बनाइएको छ ।
करिब १८ महिना अघि गुरुजु र ज्येष्ठ आजु बसी क्षमा पूजा गरिसके पछि महाबुद्ध मन्दिर जिर्णोद्वार शुभारम्भ भएको थियो । आगामी बुद्ध जयन्तीमा मन्दिरको जिर्णोद्वार सकाउने योजना बनाइएको छ ।
महाबुद्धको इतिहास
भारतको बोधगयामा रहेको महाबोधि मन्दिरको रिप्लिकाको रुपमा यो मन्दिर निर्माण गरिएको हो । ९ हजार बुद्धको मन्दिरको रुपमा प्रख्यात यो मन्दिर ललितपुरको ओकुबहाल रुद्रवर्ण महाविहार नजिक रहेको महाबोधिमण्डप विहारमा रहेको छ । शिखर शैलीको यो मन्दिरको निर्माण नेपाल सम्वत ६८५ अर्थात विक्रम सम्वत १६२२ मा भएको हो । मन्दिरको निर्माण मन्दिर रहेकै स्थानका बौद्ध विद्वान अभयराज शाक्यले गरेका हुन् ।
शाक्य चारधाम जाँदा भारतको महाबोधी मन्दिर देखेपछि त्यस्तै मन्दिर बनाउने निर्णय गरी ४ वर्षसम्म बोधगयामै बसी मन्दिरको नापनक्सा तयार गरेर ललितपुरमा महाबौद्ध मन्दिर निर्माण सुरु गरेको महाबुद्ध मन्दिर मन्दिर जिर्णोद्वार समितिका अध्यक्ष शान्तमानन्द शाक्य बताउँछन् । मन्दिर निर्माण कार्य सम्पन्न गर्न ३ पुस्ता अर्थात ३६ वर्ष लागेको थियो । अभयराजले शुरुवात गर्नुभएको उक्त मन्दिर उनका छोरा बुद्धजु र नाति जयमुनिको पालामा सकिएको थियो ।