बुद्धको मावली गाउँमा भेटिएको प्राचीन इनार

स्थानीयहरुले बुद्ध मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको रुपन्देहीको देवदहस्थित खयरडाँडाँमा प्राचिन साढे तीन फिट गहिरो ईट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यहि जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन ईट्टाको इनार भेटिएको हो ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा रुपन्देहीको देवदहस्थित खयरडाडाँमा इँट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । यसपटकको उत्खननमा भने २ मिटर चौडाई र साढे ३ मिटर गहिरो इँट्टाको प्राचिन इनार भेटियो । इनारको पूर्ण आकार भेटिएपछि खयरडाँडा प्राचिन एवं ऐतिहासिक स्थल भएको सहजै अनुमान गर्न सकिने दाबी गरिएको छ । यहाँ प्राचीन इनार भेटिए पनि कुन समयको भन्ने कुरा कार्बनडेटिङ पछि मात्रै यकिन हुनेछ । इनारको दक्षिणतर्फ प्राचीन पर्खालहरुका भग्नाअवशेषहरु समेत भेटिएका छन् । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाडा, प्राचीन इँट्टाले लगाइएको पर्खालका भग्नावशेषहरु भेटिएका हुन् । स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इँट्टाहरु लगेको र त्यसरी इँट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उत्खननमा संलग्न लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले बताए ।

स्थानीयले दाबी गरे पनि बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाडा, टुक्राहरु पण्डितपुरमा भेटिएका छन् । त्यसैले बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने जानकारहरु बताउँछन् । रुपन्देहीको देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दावी गर्दै आएका छन् । तर, जानकारहरु भने प्राचीन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन र अध्ययनको आवश्यकता रहेको बताउँछन् । यसपछि बल्ल बास्तविकता पत्ता लाग्ने उनीहरुको भनाई छ ।

देवदह–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले लुम्बिनी विकास कोष र पुरातत्व विभागले उत्खनन गरिरहेका छन् । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् । जेठ १६ बाट सुरु उत्खनन् अझै एक महिना चल्ने छ । खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरु अगाडि बढाउने योजना पुरातत्व विभाग र लुम्बिनी विकास कोषको छ ।

Share

Related posts

Leave a Comment