भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सम्पन्न भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले सम्मेलनमा सम्बोधन गरेका थिए ।

भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले सम्मेलन आयोजना भएको भारतको युनिभसिर्टटी ग्रान्ट कमिसनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ । ‘समकालिन चुनौतीहरूको सम्बोधनः सिद्धान्तबाट व्यवहारसम्म’ नारा दिइएको सम्मेलनमा चिनियाँ अधिकारीहरू भने अनुपस्थित भएका छन् ।

भारतको अशोका होटलमा बिहिबार र शुक्रबार भएको सम्मेलन आयोजना भएको थियो । दुई दिने सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतले बुद्धिस्ट सर्किट बनाउन काम गरेको बताए । यस्तै बुद्ध जन्मेको ठाँउ लु्म्बिनिमा इन्डिया इन्टरनेसनल सेन्टर बुद्धिस्ट कल्चरल हेरिटेजका निर्माण गरिएको पनि मोदीले उल्लेख गरे ।

आफु कासीको सांसद भएको र सारनाथ त्यहि भएको भन्दै मोदीले भारतले स्वतन्त्रताको ७५ वर्ष मनाउँदा सबैभन्दा ठूलो प्रेरणा बुद्धकै लिएको बताए । भारत सरकारको संस्कृति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मोदीले कुसिनगर अन्तराष्ट्रिय विमानस्थल बनाएको समेत चर्चा गरे । सम्मेलनमा करिब ३० देशका १८० प्रतिनिधि र भारतीय बौद्ध संगठनका १५० प्रतिनिधि सहभागी छन् ।

नेपालबाट मिग्योर रिन्पोचे, छोग्याल रिन्पोचे, आनी छोइङ लगायत सहभागि
विश्व बौद्ध सम्मेलनमा नेपालबाट पनि उल्लेख्य सहभागिता भएको छ । नेपालबाट उक्त सम्मेलनमा मिग्योर रिन्पोचे, नेपाल बौद्ध संघका प्रमुख छोग्याल रिन्पोछे, आनी छोइङ डोल्मा, खेन्पो थुव्देन जिकडोल लगायतका प्रशिद्ध बौद्ध धर्मगुरुहरु सहभागि थिए । त्यस्तै नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरको पनि सम्मेलनमा सहभागिता रहेको थियो ।

दुई दिने बौद्ध सम्मेलन सम्पन्न, नेपालबाट को को सहभागि ?

