खेन्पो टासी छिरिङ रिम्पोछेको निधन, हिमाली बौद्ध धर्म र दर्शनको क्षेत्रमा ठूलो क्षति

चुमनुब्री गाउँपालिका- २ ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ रिम्पोछेको निधन भएको छ। मधुमेहबाट ग्रस्त रिम्पोछेको काठमाडौँ हेम्स अस्पतालमा निधन भएको हो।

अहिले उनको शव काठमाडौ, नारायणथानको आफैँले निर्माण गरेको गुम्बामा राखिएको चुमनुब्री- २ का वडाअध्यक्ष पेम्बारेता लामाले जानकारी दिए। उनको शव ल्होस्थित रिपुम गुम्बामा एक वर्षसम्म राखिने तयारी गरिएको पनि लामाले बताए।

ल्होका छेवाङ ग्याल्जेन र पासाङ दम्पत्तिको कोखबाट जन्मेका रिम्पोछे १० वर्षको उमेरमा हिनाङको पुङ्चे गुम्बाका लामा लोपेन छेवाङ नुर्बुसँग शिक्षा लिएका थिए। त्यसपछि भारतको मैसुरको वौद्ध ङिङ्मापा विश्वविद्यालयबाट वौद्ध दर्शनमा खेन्पो उपाधि हासिल गरेका थिए।

त्यसयता उनले ल्होमा रिपुम गुम्बा, नारायणथानको गुम्बा निर्माण गरेका थिए भने राष्ट्रिय निकुञ्ज आसपास नयाँ गुम्बा निर्माणको तयारी गरिरहेका वडाअध्यक्ष लामाले जानकारी दिए। रिम्पोछेले थानकोटमा ङाग्यूर मेमोरियल बोर्डिङ स्कूल सञ्चालन गरेका छन्। त्यहाँ गोरखा, रुकुम, रोल्पा लगायतका दुर्गम हिमाली भेगका पाँचसय जनाभन्दा धेरै बालबालिकालाई निशुल्क आवासीय सुविधासहित शिक्षा दिने काम गरिरहेका जिल्ला समन्वय समितिका सदस्य छेवाङ ग्याल्जेन लामाले जानकारी दिए।

उनी नेपालको हिमाली भेगका ठूला लामा गुरुमध्येका एक रहेको उनले बताए। ‘अति दुर्गममा रहेर धर्म, संस्कृति र शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका लामा गुरु रिम्पोछेको महापरिनिर्वाणले ती हजारौ बाल बालिकाले आफ्नो अभिभावक गुमाएका छौँ’, लामाले भने, ‘हामी नेपाली बौद्धमार्गीले एक असल गुरु गुमाएका छौँ।’ विश्वभरि छरिएर रहेका ङिङ्ङपा समुदायले शोक मनाएका उनले बताए। शिव उप्रेती, अन्नपुर्ण पोष्टबाट

Share

Related posts

Leave a Comment