लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने

पोखराको अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण मृतात्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो ।

प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्ने शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ ।

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सहयोगमा हुने पूजाको पहिलो दिन लामा गुरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त शान्तिदीप हस्तान्तरण गर्ने र दीपसहितको ¥याली पोखराको मुख्य पर्यटकीय स्थल हल्लनचोकबाट शुरु गरिनेछ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक कुलबहादुर गुरुङका अनुसार शान्तिदीपसहितको ¥याली फेवाताल किनारास्थित बाराहीघाट, रत्न मन्दिर, हिमागृह, अम्बोट, शहीदचोक, हुँदै पर्वतीय सङ्ग्रहालयमा पुगेर धार्मिकसभामा परिणत हुने कार्यक्रम रहेको छ ।

शान्ति पूजाअन्तर्गत माघ २१ गते बिहान शान्तिदीप र काङग्युर तथा तेन्ग्यूर परिक्रमा, दिउँसो लामाहरुबाट बज्रकिलाया मुकुट नृत्य कार्यक्रमको आयोजना हुने बताउँदै उनले सोही दिन सङ्ग्रहालयमा वाङ (अभिषेक)का साथै धार्मिक प्रवचन गरिने बताइएको छ । मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेसहित ६० बढी लामा गुरुबाट शान्तिको कामनासहित गरिने प्रवचनमा ५०० भन्दाबढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिने संयोजक गुरुङले बताए ।

बौद्ध दर्शनको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्दै समाज, राष्ट्र एवं विश्वमा धार्मिक सहिष्णुताको सन्देश पु¥याउने लक्ष्य राखिएको छ । पूजामा उपस्थित भक्तजनहरुलाई मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेद्वारा आशिर्वाद (वाङ) प्रदान गर्ने कार्यक्रम रहेको छ ।

देशमा नेपाल भ्रमणलाई सफल बनाउने गरी कार्यक्रम अघि बढेको अवस्थामा आयोजित विश्व शान्ति पूजा बहुउपयोगी बन्ने विश्वास लिइएको नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका अध्यक्ष कृष्ण काफ्लेले बताए । पूजामा पोखरेली सबैले अपनत्व लिई महसुस हुने गरी सहयोग गर्ने अपेक्षा गर्दै उहाँले यस्ता गतिविधिले समाजमा भ्रातृत्व, सदाचार र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पर्यटकीय नगरी पोखराबाट विश्वव्यापी शान्तिको सन्देश प्रवाह गर्नेसमेत लक्ष्य राखिएको विश्व शान्ति पूजाले अन्तराष्ट्रिय बौद्ध सम्मेलनले घोषणा गरेको लुम्बिनी विश्व शान्ति निग्राम कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको पूजा संयोजक हरिध्वज तुलाचनले बताए । उनका अनुसार यस पूजाले नेपालमा स्थापित धार्मिक सहिष्णुताको सन्देश दिनुका साथै धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिविधिका रूपमा स्थापित गर्ने, अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ ।

पूजा सम्पन्न गर्न १४४ सदस्यीय सल्लाहकार समितिसहित आर्थिक समिति, पूजा व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि निमन्त्रणा तथा सत्कार उपसमिति, गुरु तथा अन्य लामाहरूलाई निमन्त्रणा तथा सत्कार उपसमिति र स्वयंसेवक, सुरक्षा तथा सुरक्षागार्ड उपसमिति गठन गरिएको छ ।

विभिन्न देशका राजदूत, वातावरणविज्ञ, हिमाल आरोहीलगायत सर्वसाधारणको सहभागिता रहने सो कार्यक्रम सम्पन्न गर्न कूल रु ६७ लाख खर्च हुने नेपाल पर्वतारोहण सङ्घका कोषाध्यक्ष तथा आर्थिक समितिका संयोजक सुदर्शन न्यौपानेले जानकारी दिए ।

विभिन्न हिमालहरूको आरोहण एवं पदयात्राका क्रममा पर्यटक हराइरहेका वर्तमान अवस्थामा गर्न लागिएको विश्व शान्ति पूजालाई अत्यन्त महत्वका साथ हेरिएको छ । पोखरामा हुन लागेको विश्व शान्ति पूजालाई पोखरा पर्यटन परिषद्, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ, होटल एसोसिएशन अफ नेपाल (हान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घलगायतका विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाले सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पहिलो विश्व शान्ति पूजा २०५९ साल फागुन १३ देखि १५ सम्म र दोस्रो २०७२ साल माघ १९ देखि २१ सम्म आयोजना भएको थियो ।

Share

Related posts

Leave a Comment