अनेक नामका भगवान बुद्धहरु

बसन्त महर्जन
बुद्ध व्यक्तिको नाम भन्ठान्नेहरु पनि धेरै हुँदा रहेछन् । उनीहरुका अनुसार अन्य धर्मसम्प्रदायका राम, कृष्ण, महादेव, विष्णु, वर्धमान, जीसस आदि भनेजस्तै बुद्ध पनि व्यक्ति विशेषको नाम हो । बुद्ध र बौद्ध धर्मदर्शनको सामान्य रुपरेखासम्बन्धी ज्ञानको अभावमा यस्तो भ्रम रहने गरेको भनेर बुझ्न गाह्रो छैन । गहिरिएर अध्ययन गर्नेहरुका लागि बुद्ध मात्रै भनेर पुग्दैन । बुद्ध त बुद्ध, कुन बुद्ध भनेर प्रश्न गर्दा यससम्बन्धमा जानकारी नभएकाहरु सामान्यतः अलमलिन्छन् । हामीसँग केही बुद्धको नाम मात्रै जानकारीमा छ, त्यो भन्दा निकै संख्यामा बुद्धहरु हुनसक्ने अनुमान बौद्ध धर्मदर्शनको अध्ययनपछि थाहा हुन्छ ।

बसन्त महर्जन

एक मित्रको प्रश्न थियो, इ.पू. ५६३ मा लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतम ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्तिपछि भगवान बुद्ध बने । भगवान बुद्ध भनेर उनी आफैले सो नाम धारण गरेका हुन् कि अरु कसैले ? यो प्रश्नपछि मलाई त्रिभुवन विश्वविद्यालयबाट रिटायर्ड भई बौद्ध धर्मदर्शन सम्बन्धी प्राज्ञिक निकायमा नै उच्च पदमा रही जिम्मेवार गहन गरिसकेका एक प्राध्यापकको सम्झना भयो । म आफू सम्बद्ध एउटा कलेजनमा कोही एक विद्यार्थीको ‘भाइवा’ थियो र ती प्राध्यापकलाई वाह्य विशेषज्ञका रुपमा आमन्त्रण गरिएको थियो । भगवान बुद्ध भनेका गौतम बुद्ध मात्र हुन् भन्ने बुझाइ उनको थियो । बुझाइसम्बन्धी अलिकति गल्तीले पनि विद्यार्थीले प्राप्त गर्ने अङ्कमा फरक पर्नजाने खतरा थियो । तत्कालै बुद्ध भनेका एक व्यक्ति मात्रै नभएर अनेक व्यक्ति बुद्ध हुनसक्ने, सबैको बेग्लाबेग्लै नाम हुने र सबैलाई भगवान बुद्ध भन्न सकिने कुरा हामी शिक्षक वर्गले जानकारी गराएपछि ‘त्यो कुरा त मलाई थाहा छैन’ भनेर पन्छिए । ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कतिपय अभियन्ताहरुले प्रयोग गर्ने कतिपय तस्वीर गौतम बुद्धको नभएर अरु नै कोही बुद्धको हुने गरेको पाइनु पनि यही भ्रमका कारण हो ।

बुद्ध कसलाई भनिन्छ ? यो प्रश्नको जवाफमा अल्झिने हो भने लामो र गम्भीर छलफल चलाउन सकिन्छ । यसको सटिक जवाफ हो– जसले बुद्धत्व प्राप्त गर्दछ उही बुद्ध हुन् । यही प्रश्नको जवाफमा कसै कसैले यसरी पनि दिने गरेको पाइन्छ– बोधि (ज्ञान) प्राप्त गर्ने व्यक्ति बुद्ध हुन् ।

मान्छे मात्रै होइनन्, समस्त सत्व (प्राणी) जन्म र मरनको चक्करमा लागिरहेका हुन्छन् र यस क्रममा अनेका योनिको यात्रा गरेर दुःख भोगिरहेका हुन्छन् । यो असाध्य दुःखबाट मुक्ति पाउनु परम सुख मान्छ, बौद्ध धर्मदर्शनले । त्यही मुक्तिको शिक्षा नै बौद्ध धर्म र दर्शनको मुख्य उद्देश्य हो । चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्ग दार्शनिक धरातलमा बौद्ध धर्मदर्शनको मूलभूत कुरा हो । दुःख छ, दुःखको कारण छ, दुःखको त्यो कारणलाई निवारण गर्न सकिन्छ र आठ वटा यो यो काम गर्नाले दुःख निवारण हुनसक्छ भनेर गौतम बुद्धले जुन आठ वटा उपाय सुझाएका छन्, त्यही चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्ग हो । अभ्यासका क्रममा यी कुराहरुलाई हृदयंगम गरेर पूर्णतः बोध गर्न सकेपछि सत्व समस्त दुःखबाट मुक्त हुन्छ र फेरि फेरि जन्मनु पर्दैन ।

‘बोधि’ को प्रसङ्ग आइसकेपछि यसको प्रकारबारेमा पनि छलफल गर्नै पर्दछ । बोधि तीन प्रकारको छ,– श्रावक बोधि, प्रत्येकबुद्ध बोधि र सम्यकसम्बोधि । बुद्धका उपदेशहरु सुनेर र मनन गरेर प्राप्त गरिने बोधिलाई ‘श्रावक बोधि’ भनिन्छ । बोधि प्राप्त गर्नेलाई बुद्ध भनिन्छ भनेपछि यस वर्गलाई स्वतः ‘श्रावक बुद्ध’ भन्न सकिने हो तर व्यवहारमा यसो नभनी ‘अर्हत्’ भन्ने गरेको पाइन्छ । पूर्व जन्ममा कुनै बुद्धको मुखारविन्दबाट उपदेश सुनेको वा पुण्यकार्यबाट यस जन्ममा बोधि प्राप्त हुनसक्छ र त्यस प्रकारको बोधिलाई ‘प्रत्येकबुद्ध बोधि’ भनिन्छ तथा यस वर्गका बुद्धहरुलाई ‘प्रत्येकबुद्ध’ भनिन्छ । ‘श्रावक बोधि’ र ‘प्रत्येकबुद्ध बोधि’ भन्दा फरक र उच्चस्तरको हो सम्यकसम्बोधि । ‘श्रावक बोधि’ र ‘प्रत्येकबुद्ध बोधि’ प्राप्त गर्ने अर्हत र प्रत्येक बुद्धको योगदान थोरै र सीमित मात्र हुन्छ भने ‘सम्यकसम्बोधि’ प्राप्त गरी ‘सम्यकसम्बुद्ध’ हुनेहरुले कैयौं वर्ष वा जन्मजन्मान्तर लगाएर अथाह मेहनत गरी अपार करुणा राखी अभ्यास गरेका हुन्छन् । उद्द्ेश्य नै फरक हुन्छ । र, ती मार्गहरुलाई यान पनि भनिन्छ । तसर्थ श्रावक यान र प्रत्यकबुद्ध यान पनि भन्न सकिन्छ र यी दुबैलाई सानो उद्देश्य राख्ने अर्थमा ‘हिनयान’ भनिएको हो । ‘सम्यकसम्बुद्धयान’लाई ‘बोधिसत्वयान’ पनि भनिन्छ । श्रावक बुद्ध –अर्हत्) वा प्रत्येकबुद्ध हुने अवस्थामा पुगेर पनि त्यसलाई स्थगन गरी अरु सत्व (प्राणी) को पनि उद्धार गर्नमा सहायक हुनसकुँ भन्ने उच्च उद्देश्य राखी बोधिसत्व जीवन विताउने र अनेकौं पारमिता एवं उपपारमिताहरु पूरा गरेर अन्ततः सम्यकसम्बोधि प्राप्त गरी सम्यकसम्बुद्ध हुन्छन् । यो मार्गमा लागेकाहरुलाई नै महायानी भनिने हो । गौतम बुद्ध सम्यकसमबुद्ध हुन् ।

गौतम बुद्धले बोधगयामा पिपलको रुखमुनि वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरेको कुरा त प्रसिद्ध नै छ । बुद्धत्व प्राप्तीका क्रममा पूर्वजन्महरुको ज्ञान पनि प्राप्त भएको थियो । आफ्नो पूर्व जन्मका बारेमा सुनाउने क्रममा अनेक बुद्धहरुको प्रसङ्ग निस्केको थियो । अर्हत् हुने हैसियत राखेका सुमेध नामक तापसी दिपङ्कर बुद्धसमक्ष ‘बोधिप्रणिधि चित्त’ उत्पन्न गरेका थिए र त्यसपछि ‘बोधिप्रस्थान चित्त’ उत्पन्न गरेर बोधिसत्व बनेका थिए । सुमेध तापसीको जीवनदेखि बोधिसत्व सिद्धार्थ अर्थात् इ.पू. ५६३ सम्ममा २४ जना बेग्लाबेग्लै बुद्धहरुको दर्शन पाएका थिए । गौतम बुद्धले भनेर मात्रै यति बुद्धहरुका बारेमा थाहा पाइएको हो, अझ दिपङ्कर बुद्धभन्दा अगाडिका मेधंकर, शरणंकर र तण्हंकर नामका अन्य तीन बुद्धको नाम पनि ज्ञान भएको हो । त्यो भन्दा पनि अगाडि अन्य बुद्धहरु थिए । र, गौतम बुद्धभन्दा पछाडि अब भविष्यमा बुद्धत्व प्राप्त गर्ने मैत्रय बुद्ध हुन् । यी जम्मै बुद्धहरुलाई भगवान बुद्ध नै भनिने हो ।

बुद्धका सन्दर्भमा ‘भगवान’ किन भनिएको हो ? भनेर चित्त नबुझाउने वर्ग पनि पाइन्छन् । जो कसैलाई ‘भगवान’ शब्द प्रयोग गर्ने वा नैतिक पतन भएकाहरुले पनि आफूलाई आफैले भगवान भनी सम्बोधन गराउँदाको असन्तुष्टि भनेर यसलाई बुझ्न सकिन्छ । भगवान कसलाई भन्ने र कसलाई नभन्ने भन्ने सन्दर्भमा गौतम बुद्धले स्पष्ट शब्दमा व्याख्या गरेका छन् । रागादि सबै कुरालाई भग्न गरिसकेको र फेरि जन्मनु नपर्ने भएकाले आफूजस्तोलाई नै ‘भगवान’ भन्न सकिने कुरा बताएका छन् । यस अवस्थामा बुद्ध भन्नु नै भगवान हो र भगवान बुद्ध भन्नुमा आपत्ती देख्नु जरुरी छैन ।

वैरोचन, अक्षोभ्य, रत्नसंभव, अमिताभ र अमोघसिद्धि नामका पाँच बुद्धहरु बेग्लै हुन्, गौतम बुद्ध वा उनीभन्दा अगाडिका बुद्धहरु जस्तो मानव योनिमा जन्म लिई साधना गरी बुद्धत्व प्राप्त गरेका होइनन् । बौद्ध दर्शनलाई साक्षात्कार गरेका साधकहरुले ध्यानको माध्यमबाट सिर्जना गरिएका हुन् । यही भएर यी पाँच बुद्धहरुलाई पञ्चध्यानी बुद्ध पनि भनिन्छन् । बुद्धत्वका सवालमा यी ध्यानी बुद्धहरु र मानव बुद्धहरुमा केही फरक नपर्ने मान्यता छ र उनीहरुलाई पनि भगवान बुद्ध नै भनिन्छ ।

बुद्ध वा भगवान बुद्ध भनेर गौतम बुद्धलाई मात्र बुझ्नु वास्तवमा बुद्ध र बौद्ध धर्मदर्शनलाई बुझ्दै नबुझ्नु हो । यो ज्ञानको अभावमा बुद्ध र बौद्ध धर्मदर्शनको कुराकानी गर्दा भ्रम, अपव्याख्या तथा अर्थको अनर्थ हुने संभावना अधिक मात्रामा हुने गर्दछ । तसर्थ बौद्ध दर्शनका बारेमा कुरा गर्दा अन्य धर्मदर्शन तथा सिद्धान्तको चश्मा लगाउनु हानिकारक नै हुन्छ ।

Share

Related posts

Leave a Comment