लुम्बिनी र कपिलवस्तु

बसन्त महर्जन
गौतम बुद्ध (ई.पू. ५६३–४८३) को जन्म स्थल लुम्बिनी र गृहनगर प्राचीन कपिलवस्तु रहेको विवरण बौद्ध ग्रन्थलगायत विभिन्न ऐतिहासिक स्रोतहरूमा पाइन्छन् । ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरूले पुष्टि गरे अनुसार यी दुबै स्थलको अवस्थिति वर्तमान समयमा नेपालको भूक्षेत्रभित्र पर्दछन् । संयुक्त राष्ट्रसंघअन्तर्गत युनेस्कोको विश्व सम्पदा सूचिमा समेत सूचिकृत लुम्बिनी राजधानी काठमाडौंबाट ३०० किमी दक्षिण पश्चिम रूपन्देही जिल्लामा पर्दछ । त्यहाँबाट पनि २८ किमी पश्चिममा प्राचीन कपिलवस्तु राज्यको राजधानी र अन्य स्थलको भग्नावशेष रहेका छन् ।

बुद्धकालीन समयको राजनीतिक भूगोल हेर्दा यस क्षेत्रमा १६ वटा ठुल्ठुला र शक्तिसम्पन्न राज्यहरू थियो जसलाई सोह्र महाजनपद भनिन्थ्यो । अन्य ससाना राज्यहरूलाई ‘जनपद’ भनिन्थ्यो र पचासभन्दा बढी संख्यामा थियो । एक जनपद कपिलवस्तु पनि थियो । गौतम बुद्धको पारिवारिक पृष्ठभूमि राजपरिवार भनिए पनि ऐतिहासिक रूपमा कपिलवस्तुमा राजतन्त्र नभएर गणतन्त्र विद्यमान थियो । कपिलवस्तुलाई शाक्य गणराज्य पनि भनिन्थ्यो ।

बसन्त महर्जन

शाक्य गणराज्य कपिलवस्तुको स्थापना कहिले र कसबाट भयो भन्ने सम्बन्धमा पनि बौद्ध साहित्यमा संक्षिप्त वर्णन पाइन्छ । स्वयं बुद्धकै मुखबाट व्यक्त भएअनुसार काशी देशका राजा ओक्काकका राजकुमारहरू यस क्षेत्रमा आई कपिलवस्तु राज्यको स्थापना गरेका थिए । तर गौतम बुद्धको समयसम्ममा अनेक कुरामा समृद्ध र विस्तृत भूक्षेत्रमा फैलिएर गणराज्यको रूपमा विकास भइसकेको पाइन्छ । कपिलवस्तुअन्तर्गत त्यतिबेला चातुमा, खोमदुस्सा, मेतलुप, सामगाम, सिन्सुमार, शिलावती र शक्कर गरी आठ ठूल्ठूला र समृद्ध महानगर, नगर र गाउँहरू थियो । राजधानीको नाम पनि कपिलवस्तु नै थियो र समृद्ध महानगरका रूपमा पाइन्छ । बुद्धकै जीवनकालमा कोशल नरेश विडूडभको कोपभाजनमा परेर कपिलवस्तु राज्यतहस नहस भयो । तर त्यहाँ बाँकी बौद्ध जनजीवनले भने निरन्तरता पाइ नै रहेको थियो । कपिलवस्तु बाहेक अन्य नगरहरूको अवस्थिति अब खोजीकै विषय भएको छ भने राजधानी कपिलवस्तुको खोजीकार्यले सन् १८९५ मा मूर्त रूप लियो । निग्लिहवास्थित अशोकस्तम्भ र त्यसमा रहेको अभिलेख पत्ता लागेपछि प्राचिन कपिलवस्तुको अवस्थिति प्रमाणित भएको होे । त्यही अभिलेखको आधारमा अन्य स्थलहरू र पूर्व दिशातर्फ बुद्धको जन्मस्थल लुम्बिनीको खोजी कार्यमा ध्यान केन्द्रित हुन पुग्यो । फलस्वरूप सन् १८९६ डिसेम्बर १ तारिखका दिन लुम्बिनीको पनि पत्ता लाग्यो ।

एक समय थियो, लुम्बिनी र कपिलवस्तु दुबै स्थलको पहिचान गर्न नसकिरहेको अवस्थामा, यी ठाउँहरू कहाँ पर्दछ भन्ने सन्दर्भमा अलेक्जेन्डर कनिंघम र कार्लाइलजस्ता पुरातत्वविद्हरू धेरै ठाउँमा अड्कलकै भरमा खोजी कार्य गरी समय बिताइरहेका थिए । भारतका विभिन्न ठाउँहरूलाई कपिलवस्तु र लुम्बिनी भनेर अलमलिरहेका थिए । तर डा. ए. फुहररले १८९५ मा कपिलवस्तु र १८९६ मा लुम्बिनीमा अभिलेख प्रमाणसहित पत्ता लगाए । त्यसपछि अन्य विज्ञहरूले पनि थप अध्ययन अनुसन्धान गरेर निष्कर्षमा पुगे । पूर्ववर्ती अन्य मान्यताहरू सेलाउनु पुग्यो । यी दुई ठाउँको अवस्थिति नेपालमा पर्दछ भन्ने कुराको स्थापना भयो । र, त्यसउप्रान्त लुम्बिनी र कपिलवस्तुको अवस्थितिका सम्बन्धमा रहेका सम्पूर्ण प्रश्नहरूले पूर्णविराम पायो । यस सम्वन्धमा लेख तथा पुस्तकहरूको प्रकाशनले लुम्बिनी र कपिलवस्तु मात्रै नभएर बुद्धसँग सम्वन्धित देवदह राज्य, रामग्राम स्तुपलगायतका स्थलहरू पनि नेपालभित्रै पर्दछ भन्ने कुराले पनि बढी मान्यता पाउँदै गयो ।

बुद्धसँग सम्बन्धित ठाउँहरू जहाँजहाँ छन् ती ठाउँहरूलाई लिएर व्यक्ति, समाज र राष्ट्र नै गौरवान्वित भएको पाइन्छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगया, धर्मचक्र प्रवत्र्तन गरेको स्थल सारनाथ र महापरिनिर्वाण प्राप्त स्थल कुशीनगरलगायत राजगीर, श्रावस्ती, वैशाली, संकाश्यजस्ता ठाउँहरू वर्तमान भारतीय भूमिमा परेका कारण भारत पनि गौरवान्वित छ भने लुम्बिनी, कपिलवस्तु, रामग्राम जस्ता स्थल नेपालभित्र परेका कारण नेपाल यस कुरामा गौरव गर्दछ ।

तर, कपिलवस्तु नेपालमा होइन, भारतमा पर्दछ भनी दावी र प्रचार गर्नेहरू पनि भारतमा रहेका छन् । यो दावीको अन्तर्वस्तुलाई बुझ्न नसक्दा कपिलवस्तुका साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनीकै सम्बन्धमा पनि अनावश्यक प्रश्नहरू उठ्ने गरेको पाइन्छ । यो सन्दर्भमा स्पष्ट हुन नसक्ने हो भने बुद्ध नेपालमा जन्मेको हो कि भारतमा भन्ने प्रश्नको समस्या कहिल्यै समाधान हुने देखिँदैन ।

नेपाली भूमिमा कपिलवस्तु र लुम्बिनी पत्ता लागेको र थप अध्ययन भइरहेकै बेला अर्थात् सन् १८९७–९८ मा वर्तमान उत्तर प्रदेशस्थित वस्तीपुर जिल्लाको पिप्रहवामा डा. डब्लू. सी. पेपे पनि उत्खनन् कार्यमा सरिक भइरहेका थिए । यो ठाउँबाट करीब एक किलोमिटर दक्षिणस्थित गणवरियामा के. एम. श्रीवास्तवले सन् १९७१–७३ ले उत्खनन थाले । त्यहाँ प्राप्त पुरातात्विक अवशेष र अन्य सामग्रीहरूको आधारमा प्राचीन कपिलवस्तु नेपालमा नभएर आफूले उत्खनन गरेको ठाउँ भएको दाबी गरे । तर त्यो दाबी निकै फितलो थियो र उनै पुरातत्वविद्र पिप्रहवामा आई पुनः थप उत्खनन् कार्यमा सरिक भए । यस स्थलमा रहेको एउटा स्तूपको भग्नावशेषबाट पेपेले अस्थि कलशमा अंकित अभिलेख (सुकित भतिन स भगिनिकनंस पुतदलनं इयं स सलिल निधते बुधस भगवते साकियनं) पाइसकेका थिए । श्रीवास्तवले यही अभिलेख र ‘कपिलवस्तु’ नाम अंकित तीन वटा सीलको आधारमा प्राचीन कपिलवस्तु भनेर यी ठाउँहरूमाथिको दाबीलाई अझ सशक्त रूपमा अगाडि सारे । उत्खनित स्थल र त्यहाँको वस्तुस्थिति हेर्दा गनवरियाको पुरास्थल एउटा ठूलो बौद्ध विहार र सानो गाउँ देखिन्छ भने पिप्रहवामा ठूलो स्तुप र सानासाना विहारहरू मात्रै देखिन्छ । यतिकै भरमा यस स्थललाई नगर वा राजधानी भन्न सकिने अवस्था छैन ।

विस्तृत भूभागमा फैलिएको प्राचीन कपिलवस्तु राज्य वा राजधानीको भूभागमा पिप्रहवा, गनवरियालगायत अन्य ठाउँहरू पर्नु स्वाभाविक हो । तर राजधानीको मुख्य क्षेत्र भने नेपालको तिलौराकोटमा नै रहेको देखिन्छ । तिलौराकोट र यस वरिपरि पछिल्ला समय भएका पुरातात्विक उत्खनन्ले यस सम्वन्धमा अझ थप पुष्टि गर्दछ । चिनियाँ बौद्ध यात्रीहरू सेङ्–साइ (चौथो शदी) फाहियान (पाँचौं शताब्दी) र ह्वेनसाङ (सातौ शताब्दी) इत्सिङ (सातौं शताब्दी) श्रावस्तीबाट क्रकुच्छन्द बुद्धको जन्मस्थल (गोटिहवा), कनकमुनि बुद्धको जन्मस्थल (निग्लिहवा) र गौतम बुद्धको गहनगर कपिलवस्तु पुगेको वर्णन पाइन्छ । यी लगायत अन्य स्थलहरूको भ्रमण गर्दै उनीहरू त्यहाँबाट पूर्व दिशातर्फ बुद्धको जन्मस्थल र त्यसभन्दा पनि पूर्व रामग्राम स्तुपको दर्शन गर्दै कुशीनगर लागेको वर्णन पाइन्छ । ती यात्रुले वर्णन गरेका कनकमुनि बुद्ध जन्मस्थल निग्लिहवा र क्रकुच्छन्द बुद्धको स्थल गोटिहवालगायतका वर्णनहरूको दूरी निर्देश व अवस्थितिहरू वर्तमान नेपालभित्र यथास्थानमा नै पाइनाले यी स्थलहरू बौद्ध इतिहास र पुरातत्वका विद्यार्थीहरूका लागि खुल्ला विश्वविद्यालय झैं छन् भने अन्यका लागि दर्शनीय तीर्थस्थल अनि पर्यटकीय स्थल हुन पुगेका छन् ।

कपिलवस्तुको विवादमै बुद्धको जन्मस्थलको कुरा रहेको छ । नेपालस्थित लुम्बिनीबाहेक भारतमा कतै पनि अर्को लुम्बिनीको अवस्थिति छैन । बुद्ध भारतमा जन्मेको भन्नुको आधार कपिलवस्तु हो । र नेपालले पनि बुद्ध नेपालमा जन्मेको भन्नुको आधार लुम्बिनीलगायत प्राचीन कपिलवस्तुका महत्वपूर्ण स्थलहरूको अवस्थिति नेपालमा पनि रहनु हो । प्राचीन कपिलवस्तु आफ्नो ठाउँमा मात्रै रहेको जिद्दी भावनात्मक रूपमा त ठिकै होला तर ऐतिहासिक तथा पुरातात्विक दृष्टिले मिल्दैन । एउटै प्राचीन कपिलवस्तु आधुनिक राजनीतिक भूगोलअनुसार दुई देशमा बाँडिएको छ । लुम्बिनीको अवस्थितिका सम्बन्धमा कुनै विवाद छैन ।

Share

Related posts

One Thought to “लुम्बिनी र कपिलवस्तु”

  1. urmi

    atyanta sandarbhik jankarimulak lekh.

Leave a Comment