आचार्य सार्की शेर्पा
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सुरु हुन अब केही दिनमात्र बाँकी छ। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको छ।
नेपालमा पर्यटक ल्याउने पर्याप्त आधार छन्। तर, पर्यटकका लागि सेवासुविधाको उचित व्यवस्थापन हुन सकेको देखिँदैन। भ्रमण वर्षबारे अझै राम्ररी प्रचारप्रसार पनि हुन सकेको छैन।
नेपाल प्राचीनकालदेखि नै बौद्धधर्मको महत्वपूर्ण स्थलका रूपमा चिनिँदै आएको छ। परम्परागत बौद्धधर्म र संस्कृतिको मूल आधार काठमाडौँ, भक्तपुर, ललिपुर र हिमाली क्षेत्रमा विद्यमान ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पुरातात्विक स्थल हुन्। विभिन्न स्थानमा बौद्ध गोन्पा, विहार, चैत्य र तीर्थस्थल भएकाले नेपाललाई बौद्ध धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिन्छ।
बौद्ध धार्मिक पर्यटनका आधार
विश्व सम्पदामा सूचीकृत बौद्ध चैत्य, स्वयम्भू चैत्य, लुम्बिनीजस्ता स्थलले नेपाललाई चिनाएको छ। प्राचीन स्मारक, पुरातात्विक महत्व बोकेका हजारौँ गोन्पा (गुम्बा) र चैत्यहरू हिमाली क्षेत्रमा रहेका छन्।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको तथ्याङ्कअनुसार हालसम्म समितिमा २,५५५ गोन्पा दर्ता भएका छन्। जसमध्ये एक हजार वर्षभन्दा पुराना ३२ वटा, ५ सयदेखि एक हजार वर्ष पुराना ९८ वटा, एक सयदेखि ५ सय वर्ष पुराना ४ सय वटा गोन्पा छन्।
गोन्पा विहारमा स्थानीयबासीले वर्षमा कम्तीमा एउटा कार्यक्रम आयोजना गरेकै हुन्छन्। बुद्ध जयन्ती (सागा दावा), प्रातिहार्य महोत्सव (छोठुल दुछेन), धर्मचक्र प्रवर्तन महोत्सव (छोखोर दुछेन), देवलोक अवतरण महोत्सव (ल्हाबब दुछेन), उपवास व्रत (ञ्युङ्ने) मणि रिल्डुप (मणि रिम्डु), डुप्छो (डुम्जी) आचार्य पद्मसम्भव कार्य लीलानृत्य आदि कार्यक्रम वार्षिक रूपमा आयोजना गरिन्छन्। जसको दर्शनका लागि देशविदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन्।
ठुल्ठूला गोन्पाहरूमा रिन्पाछेज्यूहरूको उपदेश सुन्न, बौद्ध दर्शन अध्ययन र ध्यान साधना गर्न आउने विदेशी पनि धेरै छन्। दोस्रो बुद्धको रूपमा चिनिएका आचार्य पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नुभएको थियो। त्यसैगरी, उहाँले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गर्नुभएको थियो।
त्यस्तै, दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रे तिमाल (यारी नाग) संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ आदि स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गर्नुभएको भोट वाङ्मयमा उल्लेख गरिएको पाइन्छ। आचार्य पद्मसम्भवले आफ्नो काय प्रतिनिधिका रूपमा राख्नुभएका पाँचवटा मूर्ति (कुछप तेरङ) मध्ये नेपालमा दुइटा रहेका छन्।
एउटा सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ जुनबेसीमा रहेको टासी थोङ्मोन गोन्पामा र अर्को मुस्ताङ घरपझोङ गाउँपालिका–५, ढुम्बामा कुछाप तेरङ गोन्पामा रहेको छ। उक्त पवित्र तीर्थस्थल र पवित्र मूर्तिको दर्शनका लागि विशेषगरी त्यहाँ भुटान, भारतको लद्दाख, हिमाञ्चल प्रदेश, सिक्किम र तिब्बतको साथै देशविदेशबाट वार्षिक रूपमा हजारौँ धर्मावलम्बी, श्रद्धालु भक्तजन आउने गर्छन्।
नेपालका बौद्ध संघसंस्था र गोन्पाहरूले आयोजना गर्ने विश्वशान्ति पूजा, अभिषेक (वाङ) आदि कार्यक्रममा पनि हजारौँ विदेशी उपस्थिति हुने गर्दछन्। यस्ता कार्यक्रमले देशमा धार्मिक पर्यटक भित्र्याउनको साथै आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ। बौद्ध संघसंस्था र धर्म गुरुहरूले आयोजना गर्ने कार्यक्रमलाई राज्यले सहजीकरण गर्नसके देशमा अझै धेरै धार्मिक पर्यटक स्वागत गर्न सकिन्छ।
राज्यले ध्यान दिनुपर्ने विषय
नेपालमा बौद्ध पर्यटकलाई आकर्षित गर्न गेरुवस्त्र लगाउने बौद्धमार्गीहरूप्रति राज्यले हेर्ने दृष्टिलाई परिवर्तन गर्नु जरुरी छ। देशविदेशका ख्यातिप्राप्त विशिष्ट बौद्ध धर्मगुरु रिन्पोछे तथा संघ नायकहरूलाई विशेष स्थान प्रदान गर्नुपर्दछ।
धर्मगुरु रिन्पोछे र संघ नायकहरूको हजारौँ अनुयायी हुनेभएकोले भ्रमण वर्षलाई सफल बनाउन उहाँहरूसँग समन्वय गरी प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ। बौद्धधर्म मान्ने देशका राष्ट्रप्रमुख तथा देश विदेशका प्रसिद्ध बौद्ध विद्वानलाई आमन्त्रण गरी विश्व बौद्ध सम्मेलन, बुद्ध जयन्तीलगायत कार्यक्रम आयोजना गर्नुपर्दछ।
शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीलगायत कपिलवस्तु जिल्लामा स्थित पुरातात्विक क्षेत्रहरू तिलौराकोट, कुदान, गोटीहवा, निग्लीहवा, सग्रहवा, अरौराकोट, सिसहनीया, रुपन्देहीको देवदह क्षेत्र तथा नवलपरासी स्थित रामग्राम लगायत बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित स्थलहरूको संरक्षण, सम्वद्र्धन र विकास गरी प्रचार(प्रसार गर्नुपर्दछ।
बुद्धको अस्तुधातु राखी बनाइएको आठवटा स्तुपामध्ये रामग्राममा रहेको स्तुप पनि एक रहेको पहिचान भइसके पनि हालसम्म उत्खनन् हुनसकेको छैन। यसलाई यथाशीघ्र उत्खनन् गर्नसके त्यस स्तुपको दर्शनका लागि मात्र लाखौं धार्मिक पर्यटक नेपालमा आउने सम्भावना रहेको छ। नेपालमा रहेका बौद्ध तीर्थस्थललाई बौद्ध सर्किटका रूपमा विकास गरी पर्यटकलाई चाहिने पूर्वाधार, स्रोत(साधनको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ। नेपाल न्यूजमा प्रकाशित
(लेखक नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख हुन्)


