८ मंसिर, काठमाडौं : आधुनिक विश्वमा बढ्दै गएको द्वन्द्व, हिंसा, अशान्ति र असहिष्णुताको समाधानका लागि भगवान् गौतम बुद्धका शिक्षा तथा दर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा भारतको बिहारस्थित पटनामा आयोजित राष्ट्रिय सेमिनारका सहभागीहरूले जोड दिएका छन् । उनीहरूले बुद्धका करुणा, अहिंसा, मैत्री र सहअस्तित्वका सिद्धान्त विश्वशान्ति स्थापनाका लागि प्रभावकारी मार्गदर्शन बन्न सक्ने बताएका हुन् ।
‘बुद्ध विचारमार्फत मानवता र विश्वशान्ति’ विषयमा आयोजित दुईदिने राष्ट्रिय सेमिनारको समापन कार्यक्रममा वक्ताहरूले वर्तमान विश्वमा देखिएका युद्ध, सामाजिक विभाजन, धार्मिक असहिष्णुता र आपसी अविश्वासजस्ता समस्याको समाधानका लागि बुद्धदर्शनको सान्दर्भिकता बढ्दै गएको उल्लेख गरे । उनीहरूका अनुसार भौतिक विकास र वैज्ञानिक प्रगतिले मात्र मानव समाजमा शान्ति कायम गर्न नसक्ने भएकाले नैतिकता, आत्मअनुशासन र मानवीय संवेदनाको विकास पनि आवश्यक छ ।
कार्यक्रममा पाटलिपुत्र विश्वविद्यालयका रजिस्ट्रार अबु बकरले व्यक्तिगत स्वार्थ, लोभ र बढ्दो आत्मकेन्द्रित प्रवृत्तिलाई समाजमा द्वन्द्व तथा असमझदारी बढाउने प्रमुख कारणका रूपमा व्याख्या गरे । उनले बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, सरलता, करुणा र निःस्वार्थ सेवाको सन्देश वर्तमान समाजका लागि अझ बढी उपयोगी रहेको बताए । व्यक्तिगत स्वार्थभन्दा सामूहिक हित र मानव कल्याणलाई प्राथमिकता दिन सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उनको धारणा थियो ।
बुद्धदर्शनले मानिसलाई आफ्ना विचार, व्यवहार र कर्मप्रति सचेत हुन सिकाउँछ । चार आर्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, पञ्चशील र मध्यम मार्गका शिक्षाले दुःखको कारण पहिचान गर्दै त्यसबाट मुक्ति प्राप्त गर्ने बाटो देखाउँछन् । विशेषगरी सम्यक वाणी, सम्यक कर्म र सम्यक आजीविकाजस्ता सिद्धान्तले समाजमा नैतिक आचरण, पारस्परिक सम्मान र जिम्मेवार व्यवहार विकास गर्न सहयोग पुर्याउँछन् । यी शिक्षालाई व्यक्तिगत जीवनदेखि सामाजिक तथा राष्ट्रिय नीतिसम्म अवलम्बन गर्न सके द्वन्द्व न्यूनीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ ।
सेमिनारमा उठाइएको निष्कर्षले बुद्धका शिक्षा केवल धार्मिक आस्थामा सीमित नभई विश्वव्यापी मानवीय मूल्य र शान्तिपूर्ण समाज निर्माणका आधारसमेत भएको सन्देश दिएको छ । विश्वका विभिन्न क्षेत्रमा युद्ध, हिंसा र विभाजन बढिरहेको अवस्थामा करुणा, मैत्री, अहिंसा र सहिष्णुतामा आधारित बुद्धदर्शनलाई शिक्षा, सामाजिक संवाद र सार्वजनिक जीवनमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।


