५ मंसिर, लुम्बिनी: बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बौद्ध ध्यान तथा साधना कार्यक्रमअन्तर्गत सातदिने गोप्य तारा साधना आज सम्पन्न हुँदैछ । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ (हजार स्वर्ण बुद्ध मन्दिर) मा नोभेम्बर १५ देखि २१ सम्म सञ्चालन भएको उक्त साधना कार्यक्रममा विभिन्न देशका बौद्ध धर्मावलम्बी तथा साधकहरू सहभागी भएका छन् ।
ताराज ट्रिपल एक्सिलेन्स (टीटीई) कार्यक्रमअन्तर्गत आयोजित साधना शिविरको नेतृत्व ड्रुप्पोन लामा तेन्जिन साङ्पोले गरेका छन् । शिविरमा तिब्बती वज्रयान बौद्ध परम्पराअनुसार गोप्य तारा साधना, ध्यान, मन्त्र अभ्यास तथा आध्यात्मिक अनुशासनलाई प्राथमिकता दिइएको छ । बौद्ध परम्परामा तारालाई करुणा, प्रज्ञा र संरक्षणको प्रतीकका रूपमा लिइन्छ । विशेषगरी तारा साधनालाई भय, बाधा र मानसिक अशान्ति हटाउँदै आध्यात्मिक विकास गर्ने अभ्यासका रूपमा महत्व दिइन्छ ।
सातदिने साधना सम्पन्न भएपछि नोभेम्बर २२ देखि २५ सम्म ड्रुप्पोन लामा तेन्जिन साङ्पोको नेतृत्वमा चारदिने बौद्ध तीर्थयात्रा आयोजना हुँदैछ । तीर्थयात्राका क्रममा बुद्धको जीवन र बौद्ध इतिहाससँग सम्बन्धित प्राचीन कपिलवस्तु, रामग्राम स्तूप, चुमिक चाङ्छुप (जागरणको मुहान) र काठमाडौं नजिकैको फर्पिङस्थित स्वयम्भू उत्पन्न ताराको पवित्र स्थलको भ्रमण गरिने कार्यक्रम छ । यस यात्रामार्फत सहभागीहरूलाई बुद्धको जीवनसँग सम्बन्धित ऐतिहासिक स्थल तथा हिमाली बौद्ध परम्पराका महत्वपूर्ण धार्मिक केन्द्रहरूको अवलोकन र आध्यात्मिक अभ्यास गर्ने अवसर प्रदान गरिनेछ ।
यसअघि नोभेम्बर ११ देखि १३ सम्म प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा बाह्य, आन्तरिक र गोप्य तारासम्बन्धी अभिषेक तथा धर्मशिक्षा सञ्चालन गरिएको थियो । समग्र कार्यक्रमले विभिन्न देशका बौद्ध साधकलाई एउटै आध्यात्मिक मञ्चमा जोड्दै ध्यान, साधना, धर्मशिक्षा र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गरेको छ । यस्ता अन्तर्राष्ट्रिय गतिविधिले लुम्बिनीलाई बौद्ध अध्ययन, ध्यान तथा साधनाको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्न र नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


